ट्रक खसेको बझाङको जालेबगरमा धराप, यात्रुको ज्यान जोखिममा

प्रकाशित:

बझाङ। बिहीबार बिहान चैनपुरबाट धनगढीका लागि छुटेको खप्तड यातायातको बस ठूलो दुर्घटनाबाट जोगियो । ४३ यात्रु बोकेको सुप्रप ३५५० नम्बरको बसको पछाडिको पांग्रा जयपृथ्वी राजमार्गको जालेबगर पहिरोमा धसिएको थियो ।

‘पछाडिको पांग्रा एक मिटर तल गइसकेको थियो । ड्राइभरले चलाखी गरेर गाडी रोडमा नल्याएको भए ठूलो दुर्घटना हुने थियो,’ गाडी मालिक नवराज उपाध्यायले भने, ‘गाडी पल्टिएको भए त्यतिधेरै मानिसको के हाल हुन्थ्यो १’

जालेबगरमा निरन्तर खसिरहेको सुख्खा पहिरोका कारण यस्तो दुर्घटना धेरै दिन टरेको उनले बताए । ‘हाम्रै गाडीमा तीन–चार पटक यस्तो भैसक्यो । ज्यानको माया मारेर आँखा चिम्लेर गाडी चलाउनु पर्ने अवस्था छ । कुन दिन ठूलो दुर्घटना हुने हो, थाहा छैन,’ उनले भने ।

भदौबाट सुरु भएको यो पहिरोले बाटो सफा गरेको केही बेरमै सडकमा ढुंगामुढा थुपार्ने भएकाले प्रत्येक पटक जोखिम हुने गरेको उनले सुनाए ।

जालेबगर त्यही ठाउँ हो, जहाँ बुधबार साँझ धनगढीबाट खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री बोकेर सदरमुकाम चैनपुर आइरहेको भे१ख ३६९१ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक घाइते भएका छन् । पहिरोमा पछाडिको पांग्रा भासिएपछि ट्रक पल्टिएको थियो । सडकबाट करिब ५० मिटर तल खसेको ट्रक पहिरोको बीचमा रहेको रुखमा अड्किएका कारण मानवीय क्षति हुनबाट जोगिएको थियो ।

बिहीबार बिहान मात्रै चैनपुरतर्फ गइरहेको जिप बीच सडकमा एक्कासि झरेको पहिरोमा आधा पुरिएको थियो । यो घटनामा पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

दिनहुँ जसो सुख्खा पहिरो खसिरहेका कारण यो खण्डमा दैनिक जसो जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेको छ । पहिरोबाट निरन्तर खसिरहने ढुंगाले सडकको स्वरूप बिगार्दा दुर्घटनाको जोखिम समेत बढ्दै गएको भए पनि यसको विकल्पको खोजी भने कतैबाट भएको छैन ।

छविस पाथीभेरा गाउँपालिकाको वडा नं २, मण्डी गाउँ नजिकबाट खसेको पहिरो वडा नं १ को जालेबगरसम्म फैलिएको छ । ठाडो भिरमा खसेको झण्डै डेढ सय मिटर लामो पहिरोबाट निरन्तर ढुंगा खस्ने भएकाले सवारी साधन मात्रै नभएर पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ ।

पहिरोमा दैनिक जसो सडक अवरुद्ध हुँदा यात्रुले सास्तीसमेत भोग्नु परेको छ । ‘धनगढी र काठमाडौंबाट आएका गाडी राती त्यहाँ आएर रोकिन्छन्,’ यात्रु रामजला धामीले भनिन्, ‘झोलाझिम्टा र बालबच्चा बोकेर पहिरोमा हिंड्नु पर्छ । कतिबेला ढुंगा लाग्ने हो थाहै हुँदैन ।’

यो क्षेत्र अति नै जोखिमपूर्ण रहेको बझाङका प्रहरी प्रमुख डीएसपी युवराज भण्डारीले बताए । ‘चौबीसै घण्टा पहिरो आएको आयै छ । जुनसुकै बेला पनि ठूलो दुर्घटना हुन सक्छ,’ उनले भने, ‘अरु सबै काम छोडेर भए पनि हामीले दैनिक छरसात जना प्रहरीको ड्युटी त्यही पहिरोमा खटाउनु परेको छ ।

डिभिजन सडक कार्यालयले र जिल्लाका जनप्रतिनिधिहरूसँग समस्या समाधानका लागि अनुरोध गरेको भए पनि अहिलेसम्म कुनै पहल र सुनुवाइ नभएको उनले बताए ।

यता डिभिजन सडक कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले भने पहिरोको भौगौर्भिक अवस्था अध्ययन नगरीकन रोकथामका लागि काम गर्न नसकिने बताए ।

‘तत्कालका लागि सडकबाट ग्याबिन उठाएर र पहिरोले थुपारेको डेब्रिज हटाएर बाटो संचालन गर्न सहज बनाउने बारेमा सोचिरहेका छौं,’ उनले भने, ‘दीर्घकालीन रूपमा पहिरोको प्रकृति अध्ययन नगरी केही गर्न सकिने अवस्था छैन । यसका लागि विभागसँग समन्वय गरिरहेका छौं ।’

जयपृथ्वी राजमार्गको बागथलादेखि चैनपुरसम्मको खण्डमा दर्जनौं ठाउँमा यस्तो खालको जोखिम रहेको र त्यसको सम्बोधनका लागि करोडौं रकम लाग्ने भएकाले विभागमा बजेटको पनि माग गरिरहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार