काठमाडौं । फेसबुक रिल बनाउने क्रममा एक भारतीय युवकले रेलमार्गको ट्रयाकमै गाडी चलाएपछि प्रहरी नियन्त्रणमा परेका छन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार ती युवकले मादक पदार्थ सेवन गरेर साथीहरूको उक्साहटमा रेलमार्गमा महिन्द्रा थार गुडाएका थिए ।
उनले गाडी चलाउने प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न नसक्दा ट्रयाकमा अड्किएको थियो । पछि केही व्यक्तिले उनलाई ट्रयाकबाट गाडी निकाल्न सहयोग गरे ।
र, गाडी हुत्तिएर २०/३० मिटर पछाडि पुगेको थियो । त्यस क्रममा ती व्यक्तिले रमिता हेर्न आएकामध्ये तीन जनालाई ठक्कर दिएको समेत बताइएको छ ।
तत्कालै घटनास्थल पुगेको प्रहरीले युवकलाई नियन्त्रणमा लिनुका साथै गाडी बरामद गरेको छ । पछिल्लो समय भारतमा रेलको ट्रयाकमा रिल बनाउने क्रममा दुर्घटना बढ्दै गइरहेका छन् ।
क्षणिक चर्चाका लागि जोखिम लिएर रिल बनाउन खोज्दा तीब्र गतिमा आएको रेलमा ठोक्किएर केहीले ज्यान पनि गुमाउन पुगेका छन् ।