काठमाडौँ । आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्यालको दाबी कतैबाट पनि पुष्टि नभएको प्रहरीले जनाएको छ ।
तत्कालीन मन्त्री बिना मगरका चालक समेत रहेका अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा जिकिर गरेका छन् ।
तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने, ‘अर्यालको भनाई कतैबाट पनि पुष्टि हुँदैन, उनले मिडियामा देखेर त्यस्तो कुरा बोलेको हामीसँग बताएका छन् ।’
‘सुगर’का बिरामी अर्यालको अप्रेसन गर्दा दायाँ खुट्टाको ३ वटा औँला गुमेको थाहा भएको छ । उच्च अल्कोहलिक अर्याल करारको जागिर गुमाएपछि विचलित भएको तथ्य खुलेको छ ।
गोरखा घर भएका अर्याल करारमा तत्कालीन मन्त्रीको गाडी चालकको रूपमा कार्यरत थिए । पछि उनले जागिर गुमाएका हुन् । नयाँ बजार बस्ने अर्यालले अन्तर्वार्तामा लामो समयदेखि डेरामा नगएको बताएका थिए । तर, उनकी पत्नीसँग सोधपुछ गर्दा नियमित डेरामा जाने गरेको खुलेको छ ।
बिना मगरलाई घरमा छाडेर आफू मोटरसाइकलमा निस्कँदा निर्मला पन्तलाई हत्या गरेको देखेको उनले जिकिर गरेका छन् । तर, घटनास्थल र तत्कालीन मन्त्री मगरको घर ८० किलोमिटरको दुरीमा पर्छ । अर्यालले भनेको समयमा घटनास्थलमा पुगेर फर्किन सम्भव नै नहुने एसपी बोगटीले बताए ।
२०७७ मा जागिरबाट बर्खास्त भएपछि उनी विचलित भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।