काठमाडौं । लोकप्रिय कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारणमा आउने भएको छ । निर्देशक विशाल भण्डारीले नयाँ नाम र संरचनासहित शो आउने तयारीमा रहेको जनाए ।
यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’ नाममा परिवर्तन गरिएको छ । थ्री-प्रोडक्सनले निर्माण गर्न लागेको यो शोलाई निर्देशक भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले निर्माण गर्दैछन् ।
‘कमेडी च्याम्पियन’को पहिलो र दोस्रो सिजनका कमेडियनले यस शोमा प्रस्तुति दिने निर्देशक भण्डारीले जनाए । उनका अनुसार सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराई, भरतमणी पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामाले प्रस्तुति दिनेछन् ।
अध्यक्षको रुपमा दीपाश्री निरौला यथावत हुनेछिन् । ‘छक्कापञ्जा ५’को ब्यवसायिक सफलतापछि निर्देशक निरौला टेलिभिजन कार्यक्रममा फर्किन लागेकी हुन् । नयाँ शो आउने भएपछि दीपाश्रीले सामाजिक संजालमा उत्साह व्यक्त गरेकी छन् ।
‘यसपटक हामीले डेढघण्टा हँसाउने प्रयास गर्नेछौं’ निर्देशक भण्डारीले भने, ‘यसपटक भव्य सेटमा कार्यक्रम संचालन हुनेछ । यसअघि आर्थिक अभावमा सेटमा कम्प्रोमाइज गर्नुपरेको थियो । यसपटक हिमालय टिभीसँगको सहकार्यमा ठूलो सेट तयार हुनेछ ।’
यसपटक ‘स्टेज कमेडी’मा जोड दिने तयारी छ । दुई-तीनजना कमेडियनले अतिथिसँग अन्तक्रिया र ब्यंग्य समेत गर्नेछन् । एकवर्षसम्म ५२ एपिसोड तयार गर्ने र त्यसपछि ‘कमेडी च्याम्पियन’मा जुट्ने निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको तयारी छ । यो शो हिमालय टिभीमा प्रसारण र युट्युवमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ ।