प्लाष्टिकको प्रयोग घटाउन युवाले थालेको बायोप्लान्ट उद्योग

प्रकाशित:

कैलाली। प्लाष्टिक निरुत्साहन गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका-१ मा दुई युवाले बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्। बजारमा प्रयोग हुने प्लाष्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।

भजनी-५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको हो। सरकारले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए।

बजारमा प्रयोगमा ल्याउने प्लाष्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकुल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उनले बताए।

एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्नसक्नेछ। झोला बनाउने उपकरण खरिद गर्न मात्रै ८० लाख खर्च भएको विकले जानकारी दिए।

‘स्थानीय सरकारको साथ सहयोग भयो र प्लाष्टिक निषेध गर्न सकियो भने स्थानीयस्तरमा रोजगारी सिर्जनादेखि व्यवसाय चलायमान बन्दै जाने विश्वास गरेका छौँ’, उनले भने।

दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याएको अर्का सञ्चालक करन कार्कीले बताए। ‘स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर वातावरणमैत्री झोलाको प्रयोगलाई प्रोत्साहन गर्न सक्नुपर्छ। यो अहिलेको आवश्यकता हो भने सरकारले ल्याएको कार्ययोजनाको कार्यान्वयन गर्ने आधार पनि हो’, कार्कीले भने, ‘हामीले प्लाष्टिकको विकल्पको आधार तयार गरेका छौँ । यसमा व्यापारी र सरकारको साथ चाहिएको छ।’

भारतसँग खुला सिमाना भएकाले प्लाष्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको कार्कीले बताए। प्लाष्टिकको झोला बजारमा प्रतिकेजी ३०० रुपैयाँमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी ३५० मा बिक्री गर्नु परेकाले बजारीकरणमा समस्या हुने उनको भनाइ छ। स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताए।

गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढ्ने उनीहरूको विश्वास छ।

ताजा समाचार

सम्बन्धित समाचार