कञ्चनपुर। बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको ज्यान गएको छ। जिल्लाको साइपाल गाउँपालिका – २ का ७ वर्षीय अस्मिन धामीको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो।

आइतबार घर नजिकै रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भिर घाइते भएका थिए। स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई आइतबार राति नै जिल्ला अस्पताल बझाङ रेफर गरिएको थियोे।

उनको उपचारको क्रममा सोमबार बिहान ७ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। अर्का घाइते बालक ५ वर्षीय शितल धामीलाई भने स्वास्थ्य चौकीमा उपचारपछि निको भइसकेको प्रहरीले जनाएको छ।
