धनगढीमा : पुरानो कपडाबाट झोला बनाउँदै

प्रकाशित:

धनगढी । चाडपर्वका अवसरमा बिदामा रहेका कैलालीका एक विद्यालयका छात्राले हस्तकलाको सिप सिकेर पुरानो कपडाबाट हाते झोला बनाउँदै छन्। धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयका कक्षा ९ र १० का केही छात्रा पुरानो पाइन्टबाट झोला बनाउनमा व्यस्त छन्।

कक्षा १० की छात्रा एलिना चौधरीले पुरानो पाइन्टबाट झोला बनाउने काम गर्दैछिन् र आफ्ना सहपाठीलाई पनि यस विषयमा सिकाइरहेकी छन्। “हामीले पुरानो पाइन्टबाट हाते झोला बनाइरहेका छौँ,” उनले भनिन्, “यो झोला तरकारी बोक्न र किनमेलका लागि उपयोगी छ।”

एलिनाले अर्को विद्यालयमा अध्ययन गर्दा कागजको ब्याग बनाएको अनुभव पनि सुनाइन्। “मैले एउटा पाइन्ट काटेँ तर त्यसबाट के बनाउने थाहा थिएन। पछि सोचें कि झोला बनाउनु पर्छ,” उनले थपिन्।

विद्यालयका प्रधानाध्यापक हरिष ओझाले भने, “हामीले सात÷आठ जनालाई प्रशिक्षित गर्न सुरु गरेका हौं र एलिनाले उनीहरूलाई सिकाइन्।” आगामी दिनमा अन्य विद्यार्थीलाई पनि यो सिप सिकाउने योजना रहेको उनले बताए।

विद्यालयले सञ्चालन गरेको हस्तकला प्रदर्शनीमा एलिनाले बनाएको झोला देखाइएको थियो, जसले उनको प्रतिभालाई उजागर गर्यो। विद्यालयले झोलालाई उपहारका रूपमा वितरण गर्ने योजना पनि बनाएको छ। धनगढीमा प्लास्टिकको झोलाको प्रयोग निषेध भएकाले कपडाको झोलाको माग बढिरहेको छ।

यो पहलले विद्यार्थीलाई आम्दानी गर्ने मौका प्रदान गर्दैछ र वातावरणको संरक्षणमा पनि योगदान पुर्याइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार