नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले एक सय दिनमा कुनै सकारात्मक काम गर्न नसकेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको कामको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
श्रेष्ठले वर्तमान सरकारले संसदीय पद्धति र परम्परालाई आत्मसात गर्न असफल भएको र निरंकुशतातर्फको संकेत देखिएको टिप्पणी गरे। उनले भने, “अहिलेको सरकारले संसदीय मान्यतालाई पालना गरेको देखिँदैन। हामीले सुरुमै भनेका थियौँ कि दुवै पार्टी मिलेर निरंकुशतातर्फ जाने संकेत देखिन्छ।”
उनले सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा कुनै प्रभावकारी भूमिका नखेको उल्लेख गर्दै, नागरिकलाई राज्य र सुशासनको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो। यस कारणले गर्दा एक सय दिनको समीक्षा र मेहनत गर्नुपर्ने अवस्थामा पुगेको विचार व्यक्त गरे।
अर्को मुद्दामा, उनले रास्वपा सभापतिको पक्राउको घटनामा छानबिन र अनुसन्धान भेदभावपूर्ण भएको आरोप लगाए।