धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको पाइएको छ।
साउन २२ गते मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले आफ्नै श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेर तलब खुवाइरहेका छन्।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर यसअघि छोटो समयका लागि सामाजिक विकासमन्त्री पनि बनेका थिए। उनी नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्यसमेत हुन्।
यता, मन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेका रुपमा एक जना मुक्तकम्लरी राखेको तर आफ्नो स्वास्थ्य अवस्था जटिल रहेकाले श्रीमतीले खाना पकाउने गरेको दावी गरेका छन्।
‘म लामो समयदेखि विरामी छु, चिल्लो, पिरो खान मिल्दैन, श्रीमतीलाई मेरो स्वास्थ्य र खानाका बारेमा थाहा छ। मलाई श्रीमतीले खाना पकाउँछिन् अरुलाई भान्सेले। उनी किड्नीको बिरामीसमेत हुन्,’उनले भने।
उनले यसो दावी गरेपनि मन्त्रालय स्रोतका अनुसार उनले आफ्नो श्रीमतीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइसकेका छन्।
यीनै मन्त्री लक्ष्मण किशोरले मन्त्रालयका एक जना कार्यालय सहयोगीलाई आफ्नो घरमा निजी काममा समेत लगाएको आरोप छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री लक्ष्मण किशोरले मन्त्रालयका कार्यालय सहयोगीलाई घरेलु काममा लगाइरहेका छन्।देशसञ्चार