काम गर्दागर्दै पाँचौँ तलाबाट खसेर अस्ताए खेम

प्रकाशित:

काठमाडौँ। हङकङमा दसैँ टीकाको भोलिपल्ट एक नेपाली मजदुरको निर्माण क्षेत्रमा स्काफफोल्डिङ निर्माण गर्ने क्रममा खसेर मृत्यु भयो।

१३ अक्टोबर (दसैँको टीकाको भोलिपल्ट, २७ असोज) मा होमान तिनस्थित स्टामफोर्ड अमेरिकन स्कुलको पाँचौँ तलाबाट खसेर उनको मृत्यु भएको हो।

बाँसको स्काफफोल्डिङ निर्माण गर्ने क्रममा नेपालको धरानका खेम राई पाँचौँ तलाबाट खसेका हुन्। काम गर्ने क्रममा खसेर राई तल सडकमा बजारिएका थिए।

रगत लतपतिएको अवस्थामा भुईँमा लडिरहेको देखेपछि बाटो हिँड्नेहरूले देखेर प्रहरीलाई खबर गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई प्रहरीले तत्काल कोङवा अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

बाँस जडान गर्दै बनाइने मचान अर्थात्‌ बेम्बो स्काफफोल्डिङमा काम गर्ने राईसँग हङकङका अधिकांश अग्ला महल तथा भवनको निर्माण क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव थियो।

नेपालमा धरान-१९ किराँत चोक घर भएका राई सन् १९९६ मा हङकङ आएका थिए। उनी हङकङमा छेङसा वानस्थित सरकारी आवासमा एक छोरा, एक छोरी र श्रीमतीका साथ बस्थे।

हाल हङकङमै बस्ने तथा धरानमा खेमका छिमेकी राजु लिम्बुका अनुसार नेपालमै रहेका उनका पिता बेलायती भूपू सैनिक हुन् भने जेठा दाजु मनी राई पनि बेलायती अवकाश प्राप्त सैनिक हुन्।

४८ वर्षीय राई परिवारका कान्छा छोरा हुन्। उनका दिदी-भिनाजुको पनि हङकङमै बसोबास छ।

 

ताजा समाचार

सम्बन्धित समाचार