पूर्ववडाध्यक्षले प्रहरीसँग मिलेर गरे दुई जनालाई अपहरण

प्रकाशित:

दाङ। दाङका दुई पुरूष अपहरण गरेको आरोपमा पूर्ववडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन्।

दाङको बबई गाउँपालिका–६ का ३७ वर्षीय मोहन बुढाथोकी र तुलसीपुरका माधव पोखरेललाई बन्धक बनाएर प्युठान पुर्‍याएको आरोपमा प्युठान नगरपालिका-८ का पूर्ववडाध्यक्ष लिलासिंह केसीसहित पाँच जना पक्राउ परेका हुन्।

पूर्ववडाध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सञ्तोष दसौंदी, प्रितम गिरी र शरद गिरीलाई पनि पक्राउ गरी दाङ ल्याइएको दाङ प्रहरीले जनाएको छ। केसी अहिले नमस्ने यातायात प्रालिका अध्यक्ष र दिलबहादुर दसौंदी उक्त बस प्रालिको सचिव हुन्।

सन्तोष दसौँदी जिल्ला प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखामा काम गर्ने प्रहरी रहेको बुझिएको छ। बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार दसौँदी घर बिदामा प्यूठान गएका थिए।

बुढाथोकी र पोखरेललाई लमही नगरपालिका – ९ स्थित ‘क्राउन होटलमा बन्धक बनाएर राखेको र त्यहाँबाट प्युठान पुर्‍याइएको एक प्रहरीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अमिलियका प्रमुख प्रहरी निरीक्षक भवानीप्रशाद धमला नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई गएराति प्युठानबाट पक्राउ गरेर ल्याएको हो।

प्युठानबाट आएका व्यक्तिहरूले दाङका दुई युवाहरूला बन्धक बनाएर प्युठान पुर्‍याएको सूचनापश्चात दाङ प्रहरीले त्यसको जानकारी प्युठान प्रहरीलाई दिएर सहयोग मागेको थियो।

प्युठान प्रहरीले माण्डबी गाउँपालिकाको देवीस्थलबाट उनीहरूलाई पक्राउ गरी दाङ प्रहरीको जिम्मा लगाएको हो।

प्रहरी स्रोतका अनुसार प्युठानबाट पूर्ववडाध्यक्ष केसीको नेतृत्वमा आएका पाँच जनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने लमहीको अमेलिया बजारबाट बुढाथोकी र माधव पोख्रेललाई बन्धक बनाएका थिए ।

दुई युवालाई बन्धक बनाइ सकेपछि उनीहरुले सिधा पूर्वपश्चिम राजमार्गको यात्रा नगरी दुई युवालाई घुमाउँदै देउखुरीको जहरेपुल हुँदै गढवा गाउँपालिकाबाट कालाकाँटे र त्यहाँबाट फिर्ता भइ राप्ती गाउँपालिका– १ को भालुवाङ ल्याइ उत्तर प्युठानतर्फ लगेका थिए।

प्युठानका एक प्रहरीले उनीहरूबीच लेनदेनलाई लिएर विवाद रहेको बुझिएको बताएका छन्। पक्राउ परेका पूर्व वडाध्यक्षसहितका पाँच जना अपहरण भएका भनिएका दुई जना नै प्रहरीको नियन्त्रणमा छन्।

उनीहरूलाई आइतबार दिउँसो सार्वजनिक गर्ने तयारी छ।

ताजा समाचार

सम्बन्धित समाचार