कञ्चनपुर। कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरमा बुधबार राति ‘ग्याङ फाइट’ हुँदा पाँच जना घाइते भएका छन्।
दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले बताए।
उनका अनुसार घाइते हुनेमा गौरीगंगाकै २५ वर्षीय बिक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहोरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल रहेका छन्।
घाइतेहरुमध्ये तीन जनाको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दुई समूहको झगडामा गौरीगंगाका स्थानीय २२ वर्षीय खेमबहादुर साउद, २४ वर्षीय लक्ष्मण विष्ट उर्फ माउटे र २० वर्षीय सुनिल खड्का पनि रहेको प्रहरीले जनाएको छ।
‘ग्याङ फाइट’ गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा नगरपालिका–५ का २१ दिनेश थापालाई पक्राउ गरिएको छ। प्रहरीकाअनुसार थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र सुनिल खड्का थिए।
प्रहरीका अनुसार बिक्रम बम लगायतको अर्को समूह थियो। फाइटका क्रममा धारिलो हतियार समेत प्रहार भएको पाइएको प्रहरीले जनाएको छ।