कञ्चनपुर। दार्चुलाको मार्मा गाउँपालिका–५ की ३५ वर्षीया बिमला महतालाई मंगलबार अन्य दिनभन्दा बेग्लै खुसी थियो।
बिमलाकी दिदी ४५ वर्षीया जैमती बोहराकी छोरी २० वर्षीया कमला बोहराले सोमबार पहिलो सन्तान छोरा जन्म दिएकी थिइन्।
गर्भवती कमलालाई लिएर ‘डेलिभरी’का लागि श्रीमान् २२ वर्षीय सहदेव बोहरा २४ असोजमै कैलालीको धनगढी झरिसकेका थिए। छोरीको स्याहार गर्न आमा जैमती पनि उनीहरुसँगै थिइन्।
धनगढीमा सोमबार कमलाले छोरालाई जन्म दिइन्। मंगलबार उनी अस्पतालबाट डिस्चार्ज भइन्।
धनगढीमै रहेकी जैमतीकी बहिनी दार्चुलाको मार्माकी बिमला, नवजात शिशुसहित पाँच जनाले मंगलबार बेलुकी सुदूर पहाड फर्कँने निधो गरे। कैलालीको अत्तरियाबाट उनीहरु बसमा चढे।
सहदेव, कमला, जैमती बैतडीको पुर्चौडी नगरपालिका–३ मा बस्छन्। मार्मा घर भएकी बिमलाको पनि उनीहरुसँगै जान कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बर बस चढेका थिए।
आधा बाटो छिचोलेपछि उनीहरु सवार बस मंगलबार मध्यराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखाँनमा दुर्घटना प-यो।
सडकबाट बसले कयौँ बल्ट्याङ खाँदै झण्डै तीन सय मिटर तल खस्यो। बस टुक्रा टुक्रा मात्रै भएन सवार १७ जना यात्रु कोही च्यापिए। बस भिरमा पल्टिँदा कयौँ यात्रु यत्रतत्र लागेर घाइते भए।
‘दुर्घटनास्थल डर लाग्दो छ। पहाडको घुम्तिको माथिल्लो सडकबाट बस तल्लो सडकमा खसेको छ,’ दुर्घटनास्थलमा पुगेका पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्र बहादुर बोहराले भने, ‘बस भिरमा खसेर बोडी छुट्टिएपछि यात्रुहरु यत्रतत्र लागेर बचेको देखिन्छ।’
बसमा दुर्घटनामा बिमला पनि घाइते भइन्। दुर्घटनाग्रस्त बसबाट निक्लेर मंगलबार मध्यराति उनैले दुर्घटनाको बारे जानकारी दिएकी थिइन्।
उनले फोन गरेर आफन्तलाई बस दुर्घटना बारे बताएकी थिइन्। त्यसपछि आफन्तले पनि प्रहरीलाई खबर गरेर थिए।
‘घाइते अवस्थामै उहाँ (बिमला)ले घरमा फोन गर्नुभएको रहेछ,’ सहदेवका दाइ नाता पर्ने चक्र बहादुर बोहरा भन्छन्, ‘त्यसपछि त्यतैबाट प्रहरीलाई पनि खबर भएको हो।’
सुरक्षाकर्मीले दुर्घटनाग्रस्त स्थलबाट गम्भीर अवस्थामा उद्धार गरेका बिमलाकी दिदी जैमती, छोरी कमला, ज्वाइँ सहदेव र दुई दिने नवजात शिशुलाई अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषित गरे।
दुर्घटनाको खबर दिने बिमलाले दिदी, छोरी, ज्वाइँ र नवजात शिशु हेर्नै पाएनन्। घाइते उनको अहिले कैलालीको धनगढीमा उपचार भइरहेको छ।
छोरा जन्मिएको खुसी बोकेर गाउँ फर्किरहेको सहदेवका परिवार ४ जना बाटोमै बिलाए। उनले छोरा जन्मिएको खुसी नै साट्न पाएनन्। मृतकका आफन्तले बुधबार शव बुझेर गाउँ फर्कदैछन्।
बिहीबार गाउँमै हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिने पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए।
यो दुर्घटनामा पुर्चौडी नगरपालिका–१० की गोवणी महराले पनि ज्यान गुमाएकी छिन्। घाइते १२ जनाको डडेल्धुरा अस्पतालमा उपचारपछि धनगढी ल्याइएको छ।
सम्बन्धित समाचार
- एकदिन पनि टिकेन छोरा जन्मिएको खुसी, खस्रेखाँनमा बिलायो सहदेवको परिवार
- डडेल्धुरा बस दुर्घटना: महिलाको शव भेटियो, मृतक संख्या ५ पुग्यो
- डडेल्धुरा बस दुर्घटनाः मृतक ४ जना एकै परिवारका, शोकमा डुब्यो पुर्चौडी
- डडेल्धुरा दुर्घटना: महेन्द्रनगरबाट पुर्चौडी जाँदै थियो बस, मृतक आमा–छोरा
- डडेल्धुरा बस दुर्घटना: यी हुन घाइते १२ जना, कस्तो छ अवस्था ?
- डडेल्धुरामा १७ जना सवार बस सडकबाट खस्यो, ४ जनाको घटनास्थलमै मृत्यु