किशोर तामाङ/पुनर्वास। कञ्चनपुरको पुनर्वासमा सर्वाधिक धनराशीको दोस्रो सरस्वती कप टि–२० टुर्नामेन्ट सञ्चालन हुने भएको छ।
विजया दशमी तथा शुभ दिपावलीको अवसरमा पुनर्वास नगरपालिका–२ मोतिबस्ती स्थित सरस्वती माध्यमिक विद्यालयकोे खेल मैदानमा क्रिकेट प्रतियोगिता हुन लागेको हो।
कञ्चनपुर क्षेत्र नं १ स्तरीय सर्वाधिक धनराशी दोस्रो सरस्वती कप टि–२० क्रिकेट टुर्नामेन्ट सहभागी हुने टिमले कार्तिक २ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ।
टिम दर्ताका लागि ५ हजार ५ सय रुपैयाँ शूल्क तोकिएको सरस्वती युवा क्लब एवं टि–२० क्रिकेट टुर्नामेन्टका सहसचिव लक्ष्मण भट्टले बताए।
उनका अनुसार खेललाई मर्यादित बनाउन केही सर्तहरु लागू गरिएको छ। सहभागी खेलाडीहरूले ट्रयाक जर्सी र जुत्ता अनिवार्य लगाउनु पर्ने छ।
ब्याट टिम स्वयमले् व्यवस्था गर्नु पर्नेछ। प्रतियोगितामा कञ्चनपुर क्षेत्र नं. १ का खेलाडीलाई मात्र सहभागी गराइने छ।
प्रत्येक टिमले १५ जना खेलाडीको कञ्चनपुर क्षेत्र नं.१ मा स्थायी बसोबास खुल्ने प्रमाण–प्रत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ। एलबीड्ब्लुु बाहेक आईसीसीको सम्पूर्ण नियम लागू गरिने सहसचिव भट्टले बताए।
आगामी कार्तिक ३ गतेदेखि प्रतियोगिता सुरु हुने छ। प्रतियोगिताको विजेताले ४१ हजार १ सय ११ रुपैयासहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ।
उपविजेतालाई २१ हजार १ सय ११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत खेलहरु नकआउट विधिबाट खेलाइने छ। आयोजकका अनुसार क्वाटर फाइनलसम्मका खेलहरु १५/१५ ओभर र सेमिफाइनल तथा फाइनल खेल २०/२० ओभरको खेलाइने छ।
खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै स्थानीय प्रतिभाको विकास र खेलकुदको महत्वलाई समुदायमा प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।