काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिमले नेता भीम रावललाई पार्टीभित्र भ्रम नफैलाउन चेतावनी दिएको छ।

एमाले सुदूरपश्चिमका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले विज्ञप्ति जारी गर्दै पार्टीको तल्लो तहमा भ्रम नफैलाउन नेता रावललाई चेतावनी दिएका हुन्।

रावलले सामाजिक सञ्जालमा लेखेर भ्रम छर्ने काम गरेको उनको भनाइ छ। साथै सामाजिक सञ्जालमा लेख्ने कार्य पार्टीका लागि घातक हुने चेतावनी दिँदै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता अगाडि बढाउन रावललाई सुझाव दिएका छन्।

‘‘नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा उल्लेख छ।
रावलले केही समयअघि एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको अभिव्यक्तिबारे आलोचना गरेपछि प्रदेश अध्यक्षले पार्टीमा भ्रम नछर्न चेतावनी दिएका हुन्।