मध्यराति नाचगान हेर्न गएका उमेश अस्ताए, सँगैका २ साथी हात्तीबाट भागेर जोगिए

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो।

मंगलबार बिहान साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी घर फर्कदै थिए। त्यसै बेला उनीहरुमाथि हात्तीले आक्रमण गरेको हो। चौधरीका अन्य दुई साथीले भागेर ज्यान जोगाएका छन्।

दसैँ सुरु भएसँगै थारु समुदायमा सखियाको रौनक छ। थारु बस्तीमा यतिबेला राति सखिया नाच हुने गर्छ।

‘नाचगान गरेर फर्किने क्रममा जंगल क्षेत्रमा हात्तीको आक्रमणमा परेके हुन। राति हात्तीको आवाज सुनेका रहेछन्। सँगैका २ साथीले भागेर ज्यान जोगाए,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले भने।

१३ असोजमा पनि कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार