कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रनको सहयोगमा भीमदत्त नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १३ का ६५ जना गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का सामूदाय आधारित अग्रीम प्रतिकार्य सहजकर्ता (सीबीएएएफ) हेमन्ती महरले भीमदत्त नगरपालिकाका बाढी प्रभावित वडाका १३/१३ जना गरि ६५ जना गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको बताए।

उनले छनौट भएका परिवारलाई डिग्निटी किट, हाईजिन किट, टुथ पेस्ट, नुहाउने साबुन, लुगा धुने साबुन, बाल्टी, ढक्कन र झुल वितरण गरिएको बताए। उनले गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि पाँच जना सहजकर्ताहरूले उनिहरूको घरमै गएर सामग्री हस्तान्तरण गरेको जानकारी दिए।
भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रामबहादुर बोहराले गत असार र भदौमा आएको बाढीबाट भीमदत्त नगरपालिका वडा नम्बर १३ सँगै ९, १०, ११ र १२ का धेरै परिवार प्रभावित भएको बताए।
उनले गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरू बाढीजन्य विपदको उच्च जोखिममा रहेको अवस्थामा उनिहरूका लागि आवश्यक सामग्री सहयोग गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) लाई धन्यवाद दिए।
एनएनएसडब्ल्यूएले यसअघि दोधारा चाँदनी नगरपालिकाका दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती तथा सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य, सरसफाई तथा आवश्यक सामग्री हस्तान्तरण गरेको थियो।
एनएनएसडब्ल्यूएले कञ्चनपुरमा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री, विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि शैक्षिक सामग्री साथै प्रभावित परिवारलाई नगद सहयोग निरन्तर रूपमा गर्दै आएको छ।
साथै बाढी पश्चात् देखापर्ने डेङ्गी तथा झाडापखाला जस्ता समस्याहरूको समाधान र बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिका कारण परेको तनावलाई कम गर्न परामर्श प्रदान गर्दै आएको छ।