कञ्चनपुरमा कवि राज भट्टको एकल साँझ सम्पन्न

प्रकाशित:

कञ्चनपुर । युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। मानसखण्ड फाउण्डेशनले आयोजना गरेको यस विशेष कार्यक्रममा अध्यक्षता वरिष्ठ साहित्यकार नारा जोशीले गर्नुभएको थियो।

कार्यक्रमको सूचना दुई हप्ता अघि जारी गरिएको थियो, जसमा सहभागी हुन टिकेटको व्यवस्था गरिएको थियो। होटल ओपेरामा भएको एकल साँझमा कविराज भट्टले आफ्ना केही कविता र गजल प्रस्तुत गरे। उनका गजलहरूको गायन श्रुति संगीत पाठशालाका संगीत गुरु नरेश जोशीले गरे।

कार्यक्रममा अमिटी कलेज, लिटिल स्टार पब्लिक म.वि., ब्रिक्स्टन कलेज, सिएमजी क्लब, गंगोत्री गोल्ड, तेजल प्रिन्टिङ, निङ्लाशैनी कम्प्युटर जस्ता विभिन्न संघसंस्थाहरूले सहयोग गरेका थिए।

मानसखण्ड फाउण्डेशनले एकल साँझको अवसरमा वार्षिक मुखपत्रको रूपमा ‘मानस मुखपत्र’को कविराज विशेषांक विमोचन गर्यो, जसमा भट्टको जीवनी र पाँच दर्जनभन्दा बढी साहित्यकार र साहित्यप्रेमीहरूको शुभकामना समावेश गरिएको छ।

१२ वर्षअघि हेमबाबु लेखकको एकल साँझबाट यो कार्यक्रम सुरु भएको थियो, र कविराज भट्टको एकल साँझ दोस्रो संस्करणको रूपमा सम्पन्न भएको हो। एकल साँझको संयोजन कोषाध्यक्ष महादेव अवस्थीले गरेका थिए, भने सञ्चालन सचिवले गरेका थिए।

कार्यक्रममा युवाकवि भट्टलाई दोसल्ला र प्रमाणपत्रबाट अभिनन्दन गरिएको थियो। लगभग ३ घण्टा चलेको कार्यक्रममा कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट १५० भन्दा बढी दर्शक र स्रोताहरूको सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार