काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको समयमा हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ। समिति सचिव सुरजकुमार दुराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर यस विषयमा आवश्यक निर्देशन र सहजीकरण गर्न अनुरोध गरेका छन्।
देशभरका विभिन्न स्थानमा मनसुनी वर्षाले बाढी र पहिरो निम्त्याएकोले जनजीवन प्रभावित भएको छ। समितिले पत्रमा उल्लेख गरेको छ कि सरकार र सरोकारवाला पक्षले जिम्मेवार बन्नुपर्नेछ।
दसैँको मुखमा आएको यो विपत्तिले नेपाली जनतामा त्रासको वातावरण सिर्जना गरेको छ। बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको कुरा पनि समितिले उल्लेख गरेको छ।
समितिको पत्रमा भनिएको छ, “यस विकराल परिस्थितिमा हवाई यातायातमा सेवा गर्ने कम्पनीहरूले हवाई भाडा बढाउँदा आम नागरिकमा ठूलो असर परेको छ। तसर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हवाई भाडा नियन्त्रण गर्न निर्देशन दिन अनुरोध गर्दछु।”