पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

प्रकाशित:

डडेल्धुरा । वर्षाका कारण पहिरो खस्दा अवरुद्ध भएको भीमदत्त राजमार्ग पुनः सुचारु भएको छ। बुधबार रातिदेखि अवरुद्ध भएको यो राजमार्ग बिहीबार बिहान करिब १०:३० बजेदेखि खुला भएको हो।

डोटी जिल्लाको घोरडी र गोगनपानी खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको र यो बारे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन्।

बिहीबार बिहानैदेखि पहिरो पन्छाउन थालेपछि यातायात सुचारु भएको हो। पहिरो खस्नाका कारण यात्रु, मालबाहक ट्रक र बिरामी बोकेको एम्बुलेन्स रातभर रोकिएका थिए।

यस्तै, डडेल्धुरा–डोटी जाड्ने केआई सिंह राजमार्ग पनि आंशिक रूपमा सुचारु भएको छ। डडेल्धुराको रडुवामा पहिरो खसेपछि यो राजमार्ग पनि अवरुद्ध भएको थियो। अहिले पनि पहिरो खस्ने क्रम जारी रहेपनि यातायात सेवा आंशिक रूपमा पुनः सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मङ्गलबार साँझदेखि मनसुन पुनः सक्रिय भएको र देशभर वर्षा हुने अपेक्षाका साथ जल तथा मौसमविज्ञान विभागले मौसम पूर्वानुमान जारी गरेको छ। यसले डडेल्धुरा लगायत सुदूरपश्चिमका जिल्लामा वर्षा भइरहेको पुष्टि गरेको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्थानीय जनतालाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

मनसुन सक्रिय भएपछि भइरहेको वर्षाले भित्र्याउन तयार बालीनाली र अन्य कृषिकर्ममा असर पु¥याएको छ। यस समयमा धान भित्र्याउने क्रममा भएको वर्षाले किसानलाई क्षति पुगेको छ।

ताजा समाचार

सम्बन्धित समाचार