महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ। आर्थिक मामिला तथा कानुन मन्त्रालयले बिहीबारदेखि शनिबारसम्म प्रदेशका विभिन्न स्थानमा भीषण वर्षा हुने जानकारी दिँदै सार्वजनिक अपिल जारी गरेको हो।
सरकारले विपत् व्यवस्थापनमा संलग्न सबै मन्त्रालय, जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय तह र सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरेको छ। वर्तमान वर्षाले विशेषगरी कृषि क्षेत्रमा गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ।
मन्त्रालयका उपसचिव एवं प्रवक्ता कृष्णप्रसाद नेपालले किसानलाई धान नकट्न सचेत गराएका छन्। साथै, पहाडी क्षेत्रहरूमा भूक्षय, पहिरो र गेग्य्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने जानकारी दिएका छन्।
सरकारले बाढीपहिरो, डुबान, र कटानको जोखिम देखिएमा सम्बन्धित जिल्ला र स्थानीय विपत् व्यवस्थापन समिति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीलाई तुरुन्त खबर गर्न अनुरोध गरेको छ।
बस्तीनजिक बाढीपहिरो र डुबानको जोखिमको आकलन गरी सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय गरेर सुरक्षित स्थानमा घरपरिवार र सरसमान सार्न व्यवस्था मिलाउने पनि आग्रह गरिएको छ।
विपत्को समयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला र बालबालिकालाई विशेष ध्यान दिन र उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी मनसुनी वर्षाको उच्च जोखिममा छन्, जबकि दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाम मध्यम जोखिममा रहेको छ।
धान भित्र्याउने बेला मनसुन सक्रिय हुने कारण किसान चिन्तित बनेका छन्। धेरै किसानले भनेको छ कि वर्षाले पाकेको धानलाई ठूलो नोक्सान पुर्याउन सक्छ।
कैलालीमा कतिपय किसानले धान काटिसकेका छन् र मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेपछि उनीहरूले काटेको धानलाई सुरक्षित स्थानमा भित्र्याइरहेका छन्।
धनगढी उपमहानगरपालिकामा नगर प्रहरीले किसानलाई माइकिङ गरेर धान नकट्न र काटेको धान साँझसम्म भित्र्याउन आग्रह गरेका छन्।