बैतडी । बैतडीमा घरपालुवा कुकुर र बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको छ। विश्व रेबिज दिवसको अवसरमा सप्ताहव्यापी रूपमा जिल्ला भरिका विभिन्न स्थानहरूमा यो खोप लगाउने कार्य जारी रहेको बताइएको छ।
भेटरनरी अस्पतालका पशु विकास अधिकृत डा. विशाल पाठकले कुकुर र बिरालोको टोकाइबाट मानिसमा रेबिज सर्न सक्ने भएकाले यी जनावरलाई खोप लगाउनु अनिवार्य भएको जानकारी दिए।
दशरथचन्द नगरपालिका, मेलौली र पाटन नगरपालिकाका विभिन्न स्थानहरूमा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ। पाटन बजार क्षेत्रमा छाडा कुकुरलाई पनि खोप लगाउने तयारी भइरहेको डा. पाठकले बताए।
नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ। यस्तै, सुर्नया गाउँपालिकामा पनि घरपालुवा कुकुर र बिरालोलाई निशुल्क खोप लगाइँदैछ। पशु सेवा शाखा प्रमुख उपेन्द्रकुमार शाहले वडाबाट खोपको माग आएमा सोही अनुसार खोप पठाइने जानकारी दिए।
रेबिज रोगबाट बच्न र बचाउनका लागि कुकुर र बिरालोलाई खोप लगाउनु अत्यावश्यक रहेको कुरामा सबैले ध्यान दिनुपर्नेमा जोड दिइएको छ।