काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलका नेताहरूले संविधानविपरीत दिएका अभिव्यक्तिहरूको भण्डाफोर गर्न पार्टीका नेता-कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’ को स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको मर्मविपरीत भइरहेका अभिव्यक्तिहरूलाई जनतासामु ल्याउन जरुरी रहेको बताए।
प्रचण्डले केही नेताहरूले जनयुद्धलाई ‘हिंसा’को रूपमा चित्रण गर्ने दुस्साहस गरेकोप्रति कडा आपत्ति जनाउँदै भने, “संविधानले माओवादी जनयुद्धलाई सशस्त्र संघर्षको रूपमा मान्यता दिएको छ। संविधानको व्याख्यात्मक टिप्पणीमा पनि स्पष्ट रूपमा जनयुद्धलाई सशस्त्र संघर्ष भनिएको छ, जसमा सबै दलहरूको सहमति छ। तर, अहिले केही सत्तारूढ नेताहरूले जनयुद्धलाई हिंसा र आतंकवादको रूपमा व्याख्या गरिरहेका छन्, जसको भण्डाफोर गर्नुपर्छ।”
अध्यक्ष प्रचण्डले एउटा नेताले आफूलाई ‘राउन्ड किक’ हानेको भनेर दिएको अभिव्यक्तिको पनि कडा विरोध गर्दै भने, “अब जनताले राउन्ड किक कस्तो हुन्छ, तिनीहरूले चाँडै देख्नेछन्।”
जनयुद्धका शहिदहरूको सम्मानका लागि पार्टीले चालिरहेका कदमहरूको बारेमा जानकारी दिँदै उनले शहिद घोषणा भएका व्यक्तिहरूको नाम राजपत्रमा प्रकाशित नगरेकोप्रति असन्तोष व्यक्त गरे। उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा पुराना निर्णयहरूको समीक्षा गरेर जनयुद्धका शहिदहरूको नाम राजपत्रमा प्रकाशित गरिएको जानकारी दिए। “यो सबैका लागि गर्वको कुरा हो। छुटेका शहिदहरूलाई पनि समेट्न बाँकी प्रक्रिया अघि बढिरहेको छ,” प्रचण्डले भने।
यस्तै, फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषद्को निर्णय अदालतले रोक लगाएको प्रसङ्ग उल्लेख गर्दै उनले टीआरसी विधेयक पारित भएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न कुनै अवरोध नरहने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा प्रचण्डले पार्टी पुनर्निर्माणको प्रक्रिया जारी रहेको बताउँदै सहिदको स्मृति दिवस र प्रतिष्ठानलाई एकरूपता दिने उद्देश्यले आगामी केन्द्रीय समिति बैठकमा नीतिगत निर्णय गरिने जानकारी दिए। पार्टीले सहिदहरूको सम्मानलाई जनस्तरसम्म पुर्याउनुपर्ने उनको जोड थियो।