महेन्द्रनगर । आज श्रीकृष्ण जन्माष्टमी पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ, जसलाई ‘श्रीकृष्णजन्माष्टमी’ र सो रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन, देशभरिका कृष्ण मन्दिरहरूमा विशेष पूजा, आराधना, प्रवचन र भजनकीर्तन आयोजना हुने गर्दछ।
श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। उनका उपदेशका रूपमा रहेका ‘श्रीमद्भागवतगीता’ लाई पवित्र ग्रन्थ मानिन्छ, जुन कुरुक्षेत्रमा अर्जुनलाई दिएका उपदेशका क्रममा व्यक्त भएको थियो। यो ग्रन्थ विश्वभरि सबैभन्दा धेरै भाषामा अनुवाद भएको मानिन्छ।
श्रीकृष्णको बाल्यकालदेखि नै पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता राक्षसी प्रवृत्तिको संहार गरेको पौराणिक कथाहरूमा उल्लेख छ। यस पर्वमा महिलाहरू र पुरुषहरूले व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ। श्रीकृष्णको जन्मको उपलक्ष्यमा, नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ र विद्यालयहरूमा बालबालिकाहरूलाई श्रीकृष्ण र राधाको रूपमा शृङ्गार गरेर विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ।