काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था, र विधिको शासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासन, दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सरकार अघि बढिरहेको बताए।
लेखकले नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन, परिमार्जन र नयाँ कानुन बनाउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। “मैले मन्त्रालयबाट निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छु। यो अहिले अर्थ मन्त्रालयमा छ र विभिन्न मन्त्रालयहरूको सहमतिका पछि संसदमा जान्छ,” उनले भने।
उहाँले प्रहरी सम्बन्धी संघका ऐनहरूमा संशोधन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन गरिने जानकारी दिए। प्रहरी समायोजन प्रक्रिया चाँडै अन्तिम रुप पाउने अपेक्षा गर्दै लेखकले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुनेमा विश्वस्त रहन आग्रह गरे।