महेन्द्रनगर । लगातारको अविरल वर्षापछि आएको बाढीले कैलालीका भजनी नगरपालिका र कैलारी गाउँपालिकाका अधिकांश क्षेत्रहरू जलमग्न भएका छन्। बुधबारबाट सुरु भएको बाढीले भजनीका सबै ९ वडाका बासिन्दालाई प्रभावित बनाएको छ। उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छ भने स्थानीय प्रशासनले बाढी पीडितहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेको छ।
कैलारी गाउँपालिका–५ मा पर्ने पुरानो मनिकापुर, बैसपुर, बंगालीपुर र सपनाश्री गाउँका सयौं परिवार विस्थापित भएका छन्। बुधवार कैलारीका विभिन्न गाउँमा फसेका १२ जना र गौरिगंगा नगरपालिकाका ४ जनालाई उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, कैलारी–५ का रामकृष्ण चौधरी र उनकी श्रीमतीलाई बाढीले घरको सामान ओसार्दा बगाएको थियो।
उनीहरूलाई करिब ५ सय मिटर तल घाइते अवस्थामा रुखमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको छ। अहिले उनीहरूलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
भजनी नगरपालिका पूर्ण रूपमा जलमग्न छ र ९ वटै वडाका बासिन्दाहरू प्रभावित भएका छन्। सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्धारमा जुटेका छन्। नगरपालिकाका विपद् फोकल पर्सन विष्णुराज न्यौपानेले सबै परिवार डुबानमा परेको पुष्टि गरेका छन्।
कैलारीका विस्थापित परिवारलाई नजिकको शेल्टरमा राखिएको छ। प्रारम्भिक तथ्यांक अनुसार, भजनी नगरपालिकाको वडा ३, ४, ५ र ८ का ४१५ परिवार, घोडाघोडी नगरपालिकाका वडा ५ र ९ का ५४ परिवार विस्थापित अवस्थामा छन्। बाढीको प्रभाव अझै जारी रहेकाले उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ।