प्राथमिक स्वास्थ्य केन्द्र पाटनलाई ५० लाख बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण

प्रकाशित:

बैतडी। पाटन नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनलाई ५० लाख रुपैयाँ मूल्य बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ। नेपाल जर्मन फाउण्डेसनको सहयोगमा उपलब्ध गराइएका यी उपकरणहरू, केन्द्रको सेवा सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टका अनुसार, स्वास्थ्य केन्द्रले हेमोलोटोजी एनालाइजर, इलेक्ट्रोलाइट एनालाइजर, र फाइन केयर थ्री प्लस मेसिन प्राप्त गरेको छ। यी उपकरणहरूको प्राप्ति पछि थाइराइड, मृगौला र रगत सम्बन्धी विभिन्न परीक्षणहरू गर्न सहज हुने भएको छ।

पाटन नगरपालिका वडा नं। ६ का स्थायी बासिन्दा र हाल जर्मनीमा बस्दै आएका पुष्पराज जोशीको पहलमा, फाउण्डेसनमार्फत यी उपकरणहरू प्राथमिक स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरिएको हो। आइतबार आयोजित विशेष कार्यक्रममा, पुष्पराज जोशीका भाइ महेन्द्र जोशीले उपकरणहरू हस्तान्तरण गरेका थिए।

उपकरण हस्तान्तरण कार्यक्रममा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, वडा नं। ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

उपकरणहरूको हस्तान्तरणसँगै, पाटन क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य परीक्षणको लागि बाहिर जानु नपर्ने, सेवा सुधार हुने र स्वास्थ्य केन्द्रमा बिरामीहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार