महेन्द्रनगर । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका दलित समुदायका प्रथम व्यक्ति गुरुदेव कृष्ण दमाईलाई पशुपतिनाथस्थित ऐतिहासिक विशाल कोटी होम यज्ञमा बिहीबार भव्य स्वागत र अभिनन्दन गरिएको छ।
दमाईले दलित समुदायका लागि वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै संस्कृत साहित्यमा आचार्यको उपाधि प्राप्त गरेका छन्।
भीमदत्त नगरपालिका–३, तिलकपुरमा बस्दै आएका उनले २०६४ सालमा कञ्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए।
त्यसपछि उनले शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्रीको शिक्षा पूरा गरेपछि आचार्यको पढाइको लागि दाङ पुगेका थिए। दमाईको यस उपलब्धिले दलित समुदायका लागि संस्कृत अध्ययनमा नयाँ युगको शुरुआत गरेको छ र समाजले यसलाई सम्मानपूर्वक लिएको छ।