काठमाडौँ । नेवार समुदायले मनाउने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।
पर्वको अवसरमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ ।
राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ ।
यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।