सुदूरपश्चिममा तीन वर्षमा ६२९ जबरजस्ती करणीका मुद्दा दर्ता

प्रकाशित:

महेन्द्रनगर । १७ वर्षीया किशोरीमाथि पटक–पटक जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकालाई २०८१ बैशाख ५ गते पक्राउ गर्‍यो। बैतडीको पुर्चौडी नगरपालिका–४ का ती पुरूषले भतिजीमाथि पटक–पटक करणी गरेको र गर्भ बसेपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार ती युवती चैत २६ गतेदेखि हराएकी थिइन्। हराएको दुई दिनपछि पुर्चौडी नगरपालिका–४ का स्थानीय जंगलमा उनको शव फेला परेको थियो। पोस्टमर्टमपछि उनको गर्भमा १८ हप्ताको बच्चा रहेको र टाउकोमा चोट लागेको देखिएपछि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानको क्रममा किशोरीका काकाले पटक–पटक करणी गर्दै आएको र गर्भ बसेपछि हत्या गरेको पुष्टी भएको हो। किशोरीको हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार ती पुरूषले गरिसकेका छन्। उनीविरूद्ध किशोरीका बाबुले हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए।

अहिले ती पुरुष जेलमा छन्। यो त केबल हालै मात्र सार्वजनिक भएको एउटा प्रतिनिधि उदाहरण मात्र हो। सुदूरपश्चिममा तीन वर्षको अवधिमा जबरजस्ती करणीका ६ सय २९ मुद्दा प्रहरीमा दर्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०र८१ मा २०२ जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा सबैभन्दा बढी कैलालीमा ८१ र त्यसपछि कञ्चनपुरमा ४१ मुद्दा दर्ता भएका छन्।

बैतडीमा २२, अछाममा १२, बझाङमा ११, बाजुरामा १० र डडेल्धुरामा १०, डोटीमा ८, र दार्चुलामा ७ मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ। सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्ष २०७९र८० मा जबरजस्ती करणीका १९१ मुद्दा दर्ता भएका छन्। सो अवधिमा सबैभन्दा बढी कैलालीमा ८९ र त्यसपछि कञ्चनपुरमा ४० मुद्दा दर्ता भएका छन्। बैतडीमा १४, बाजुरामा ११, बझाङमा १०, अछाममा ९, डोटीमा ८, दार्चुलामा ७ र डडेल्धुरामा ३ वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ। त्यस्तै आर्थिक वर्ष २०७८र७९ मा २३६ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका थिए। सो अवधिमा पनि सबैभन्दा बढी कैलालीमा ११५ र त्यसपछि कञ्चनपुरमा ३२ मुद्दा दर्ता भएका छन्।

डोटीमा २०, बझाङमा १५, बाजुरा र अछाममा १३र१३, बैतडीमा १२, दार्चुलामा ९ र डडेल्धुरामा ७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा ३ आर्थिक वर्षमा २०८ वटा जबरजस्ती करणी उद्योगका मुद्दा समेत प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०र८१ मा ५३, आर्थिक वर्ष २०७९र८० मा ६३ र आर्थिक वर्ष २०७८र७९ मा जबरजस्ती करणी उद्योगका ९२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीविना करणी गरे वा मञ्जुरीमै भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै नाबालिकालाई करणी गरे बलात्कार गरेको मानिन्छ। कुन उमेरसमूहलाई कस्तो कारबाही हुने भन्ने विषय पनि अपराध संहिताले तोकेको छ। उक्त प्रावधानले १० वर्षभन्दा मुनिका बालिका करणी गर्नेलाई १० देखि १५ वर्षसम्म कैद हुनेछ। पीडित १० देखि १४ वर्षमुनिका बालिका भए ८ देखि १२ वर्षसम्म कैद हुने वा १४ देखि १६ वर्षमूनिको बालिका भए ६ देखि १० वर्षसम्म कैद हुने र १६ वर्ष वा सोभन्दा माथिको महिला भए ५ देखि ८ वर्षसम्म कैद हुने व्यवस्था छ।

 

ताजा समाचार

सम्बन्धित समाचार