महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा हिजो राति बाघले तीन बाख्रा खाएको छ । दोधारा चाँदनी नगरपालिका–३ देवीथानमा एक र जमुनाघारीमा दुई गरी बाघले तीन बाख्रा खाएको स्थानीय तमान सिंह गुरुङले बताए ।
शुक्रबार (हिजो) कमलशा टोलको उखुँबारीमा लुकेको बाघले त्यो क्षेत्रबाहिर प्रवेश गरेर अहिले सम्म तीन बाख्रा खाएको तथ्याङ्क उपलब्ध भएको छ ।
हिजो दिउसो लगभग २ बजेतीर दोधारा चाँदनी–३ जमुनाघारीमा धाबहादुर सुनारको बाख्रा बाघले खाएको हो । त्यस्तै हिजो राति साढे १२ बजेतीर देवीथानका ओम प्रकाश रोकायाको एक बाख्रा र राति २ बजेतीर बाघले जमुनाघारीका श्याम सुनारको बाख्रा खाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
उखुँबारीबाट बाघ आहारा खोज्नकालागी बाहिर नजाओस भनेर खैतमा भैँसीको पाँडो बाधिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।
हिजो (शुक्रवार) दिउँसो स्थानीयले अर्को बाघ खेतबारीमा देखेका हुन् । तत् पश्चात सुरक्षा निकाय, आरक्षको टोली र स्थानीयले बाघको खोजी कार्यका बेलुका देखि नै थालेका थिए ।
गत बिहिबार सोहि ठाउँमा बाघले आक्रमण गर्दा स्थानीय २३ वर्षिय महिला हीरा शाहको ज्यान गएको थियो । शाहको ज्यान लिने बाघलाई भने ४ हात्ति परिचालन गर्दै सुरक्षा निकाय, आरक्षको प्राविधिक टोली र स्थानीयको सहयोगमा शुक्रबार बिहान नियन्त्रणमा लिएर बर्दिया लगिएको छ ।
हीरा शाहको ज्यन लिने बाघ नियन्त्रणमा लिएको दिन बेलुका स्थानीयले सोहि स्थानकै खेतवारीमा अर्को बाघ देखेका हुन् । बाघको आतंकले दोधारा चाँदनीवासी त्रसित बनेका छन् ।
गत बुधबार देखि नै दोधारा चाँदनीमा बाघको त्रास फैलिएको हो ।
हिजो राति बाख्रा खाने बाघको समेत खोजी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।