महेन्द्रनगर । कञ्चनपुरमा बाघ नियन्त्रणमा लिनका लागि बर्दियाबाट डार्ट टोली आउँदै छ । बर्दियाबाट डार्ट टोली आइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार बेलुका जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ मा बाघ देखिएको स्थानीयले बताएका थिए । आज बिहान खेतमा काम गरिरहेकी सोही वडाकी २३ वर्षीया हिरा शाहको बाघको आक्रामणबाट मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बाघबाट स्थानीयलाई आक्रमण हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै गत वर्ष पनि बेलौरी नगरपालिका–८ पचुइमा एक महिलाको घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त बाघलाई घटनाको दोस्रो दिन डार्ट गरी नियन्त्रणमा लिइएको थियो ।


