वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश

प्रकाशित:

काठमाडौं । नायव निरीक्षक (सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक–फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो ।वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा–छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी हुन् ।वरिष्ठहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका बरिष्ठ सईहरुले समेत न्याय पाएको उनले बताए ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए ।नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

के हो वरिष्ठ सईको मुद्दा ?

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ ।

तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।
१ साउन २०७९ बाट लागू भएको तलवमानअनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ ।सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

ताजा समाचार

सम्बन्धित समाचार