महेन्द्रनगर । आषाढ शुक्ल एकादशीको अवसर पारेर आज घर घरमा रहेका तुलसीको मोठमा तुलसीको बिरुवा सारिएको छ । आजबाट तुलसीको बिरुवा सारी चार महिनासम्म विशेष पूजा आराधना गर्ने गरिन्छ ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।