महेन्द्रनगर । बैतडीमा यो बर्ष मकै उत्पादनमा कमी आउने चिन्ता व्यक्त गर्न थालिएको छ । शुक्रबारदेखि सोमबार सम्म परेको अविरल बर्षाले मकै पकेट क्षेत्रमै क्षति पुर्याएकाले मकैको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् ।मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएका सुर्नया, दशरथचन्द, पुर्चौंडी लगायतका क्षेत्रमा हावाहुरीसहितको बर्षाले क्षति पुर्याएको सुर्नया ८ सेलाका रामबहादुर साउँदले बताए । चार दिनको बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको उनले बताए ।
चार दिन परेको अविरल बर्षासंगैको हावाहुरीले दशरथचन्द नगरपालिका वडा नं १ र २ का विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको दशरथचन्द नगरपालिका १ का किसान बिरबहादुर टेरले बताए । उनले भने ‘यो बर्ष मकै उत्पादनमा कमी आउने अनुमान गरेका छौं । बर्षाका कारण घोगा लाग्न लागेको मकै सबै ढलेर नष्ट भएको छ । बारीमा मकै ढलेर सोत्तर भएका छन् ।’
घोगा लाग्ने बेला मकै ढलेपछि किसानहरु चिन्तित बनेका छन् । यो बर्ष मकैको उत्पादनमा कमी आउने दशरथचन्द नगरपालिका २ का दिपेन्द्र बोहराले बताए । चारदिनको लगातार बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको उनले बताए । उनले भने ‘हावाहुरीसहितको बर्षाले मकैबालीमा ठूलो क्षति पुर्याएको छ । यसले गर्दा मकै उत्पादनमा कमी आउने देखिएको छ ।’
पछिल्ला बर्षहरुमा मकै उत्पादन हुने क्षेत्रफल समेत घट्दै गएको छ । १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएकोमा पछिल्लो कृषि गणना अनुसार मकै खेती हुने क्षेत्रफल १० हजार ५६० हेक्टर रहेको छ ।
लगातारको बसाइसराई र किसानहरु अन्य खेतीमा लागेका कारण मकै खेती गर्ने क्षेत्रफल घटेको हुन सक्ने कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले जानकारी दिए ।