महिला माथि हुने हिंसाजन्य घटनाहरु नियन्त्रण गर्न कानुनी सचेतना आवश्यक

प्रकाशित:

महेन्द्रनगर । महिला माथि हुने हिंसाजन्य घटनाहरु नियन्त्रण गर्नका लागि कानुनी सचेतना कार्यक्रम अघि सार्नु पर्नेमा जोड दिईएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय समुत्थान परियोजना कार्यान्वयन इकाई धनगढीले शुक्लाफाँटा नगरपालिका १० झलारीमा लैंङ्गिक हिंसा नियन्त्रण सञ्जालका सदस्यहरुका लागि आयोजना गरेको सचेतनामुलक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले कानुनी सचेतना कार्यक्रमलाई ग्रामीण क्षेत्र सम्म पुरयाउनु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रण बहादुर महराले महिला माथि हुने हिंसा न्यूनिकरणका लागि सबैको सहकार्य हुनु पर्ने बताउनु भयो । “हिंसा नियन्त्रण गर्नका लागि कानुन बनेपनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा महिलाहरुले न्याय पाउनबाट बञ्चित रहनु पर्ने अबस्था छ” उहाँले भन्नुभयो, “कानुन कार्यान्वयनको पक्ष बलियो भए हिंसा नियन्त्रणमा उपलब्धी देखिन्छ ।” नगर उप प्रमुख कल्पना कुमारी (जोशी) पन्तले महिला माथि हुने विभेद, हिंसाजन्य घटना बढनुमा परम्परागत सामाजिक संरचना जिम्मेवार रहेको बताउनु भयो ।

“म हिंसा गर्दिन भनेर आफैंबाटै प्रतिवद्धता आउनु पर्छ” उहाँले भन्नुभयो, “महिलालाई परिवारमा सम्माजनक व्यवहार गरे हिंसा आफैं हटेर जान्छ ।”

नगरपालिकाको न्यायिक समितिमा आउने सामान्य झै झगडा, गालिगलौचका उजुरीहरु मेलमिलापका माध्यबाट टुङग्याउदै आएको उहाँले बताउनु भयो । चालु आबमा न्यायिक समितिमा आएका २९ विवादको जित जितको भावनाका साथ छिनोफानो गरिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले चालु आबमा महिला तथा बालबालि लक्षित एक सय आठ वटा अपराधिक घटना दर्ता भएको बताउनु भयो । महिला तथा बालबालिका लक्षित अपारधिक घटना गत वर्ष एक सय १९ वटा दर्ता भएको उहाँले बताउनु भयो ।

“पहिलेको तुलनामा महिला माथि हुने हिंसाका घटनाहरु प्रहरी समक्ष बढी आउने गरेका छन” उहाँले भन्नुभयो, “महिलाहरु पहिलेको तुलनामा सचेत हुदा प्रहरी सम्म पुग्न थालेका हुन ।” श्रीकृष्ण माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक लक्ष्मी (थापा) ऐरले परिवारमा हुने हिंसाका घटनाबाट विद्यालय पढने बालबालिकामा असर देखिने गरेको बताउनु भयो । “बालबालिकामा मानसिक समस्या देखिने गरेको छ” उहाले भन्नुभयो, “जसबाट उनीहरुको पढाईमा असर देखिन्छ, कक्षा कोठामा एक्लै बस्न मन पराउने, झोक्राएर बस्ने लगायतका समस्या बालबालिकामा देखिने गरेका छन ।”

परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख जयन्ती गिरीले महिला माथि सामाजिक,आर्थिक, सांस्कृतिक, शैक्षिक,राजनीतिक, धार्मिक तवरबाट हिंसा हुने गरेको बताउनु भयो । “हिंसाका नयाँ नयाँ रुप देखिन थालेका छन,नियन्त्रण गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “हिंसा विरुद्धका सचेतना र सशक्तिकरणका कार्यक्रमहरुमा महिलाहरुको पहुँच अभिबृद्धि गरी हिंसाका घटनामा कमी ल्याउन सकिन्छ ।” परियोजनाका विशेषज्ञ मेनुका बस्नेतले महिला मथि हुने हिंसाका घटना न्यूनिकरणका लागि गाउँ गाउँ सम्म कार्यक्रम पुरयाउनका लागि योजना बनाउनु पर्ने बताउनु भयो ।

“सहरको तुलनामा ग्रामीण क्षेत्रका महिला माथि हिंसाका घटना बढी हुने गरेका छन, हिंसा हुदा पनि सहेर बस्नु पर्ने अबस्था छ” उहाँले भन्नुभयो, “जनचेतनाको अभावमा हिंसा पीडित महिलाहरु नियमनकारी निकाय सम्म पुग्न सकेका छैनन् ।” कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक विर बहादुर बुडाऐरले गर्नु भएको थियो । उहाँले नगर क्षेत्रको लैंङ्गीक हिंसाको अबस्था र निराकरणका उपाय बारे कार्यक्रममा जानकारी दिनु भएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार