महेद्रनगर । कञ्चनपुरको दक्षिणी सीमाक्षेत्रमा भइरहेका मानव र वन्यजन्तुबीचको द्वन्द्वले मानवीय क्षति हुन थालेको छ।
यो क्षेत्रमा केही वर्षयता हात्ती र बाघको आक्रमणका छुट्टाछुट्टै घटनाबाट चार जनाको मृत्यु भएको सबडिभिजन वन कार्यालय कुण्डा, ९कञ्चनपुर० का अधिकृत दिनेशकुमार यादवले जानकारी दिए।
वन्यजन्तुको आक्रमणबाट केही व्यक्ति घाइते भएका छन्। गत वर्षमात्रै बेलौरी नजिकको पचुइँमा बाघको आक्रमणमा परी स्थानीय एक महिलाको मृत्यु भएको थियो। वन कार्यालयको पहलमा उक्त बाघ काठमाडौँ चिडियाघरमा पुर्याइएको थियो।
यसअघि आफ्नै गाउँ नजिकैको भारतीय वनमा घाँस काट्न गएकी कञ्चनपुर, पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो। बेलौरी क्षेत्रमा दुई छुट्टाछुट्टै ठाउँमा भएका हात्ती आक्रमणबाट पनि दुई जनाको मृत्यु भइसकेको छ । पुनर्वास क्षेत्रमा हात्ती आक्रमणका घटनामा पाँच जना घाइते भएका थिए।
हात्तीले खेतमा बाँधेको एउटा गोरुसमेत मारेको थियो। एक साताअघि राति ९ बजे पुुनर्वास नगरपालिकामा हात्तीले आक्रमण गर्दा वादी राना घाइते भएका छन्। उनको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सबडिभिजन कार्यालयको तथ्याङ्कअनुसार केही वर्षयता नेपाल–भारत दशगजा क्षेत्र र पुनर्वासमा दुई हात्ती मरेको अवस्थामा फेला परेको छन्। अर्को एक हात्ती कालगतिले मरेको भेटिएको छ।
बर्सेनि मानिसका घरखेतमै पुग्ने हात्तीले सयौँ बिघामा गरिएको किसानको खाद्यान्न तथा नगदेबाली नष्ट गर्ने गरेको छ। वन्यजन्तु ओहोरदोहोर गर्ने वन क्षेत्रको पुरानो मार्ग टुट्न थालेकोले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्न थालेको वन प्राविधकको भनाइ छ । यो क्षेत्रमा सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्ज र वारी नेपालतर्फ लालझाडी वनक्षेत्र छ। लालझाडी वन क्षेत्रसँग मोहना–लालझाडी जैविकमार्ग जोडिएको छ।
ुयस्तो द्वन्द्व हटाउन वन्यजन्तुको जैविक मार्गको संरक्षण गर्दै टुटेको भागलाई जोड्न जरुरी भइसकेको छु, अधिकृत यादवले भने, ुयसबाहेक जनचेतना अभिवृद्धिको पाटोलाई सशक्त बनाउन जरुरी छ।ु वर्षायाममा सीमापारिको दुदुवा राष्ट्रिय निकुञ्ज जलमग्न हुँदा त्यहाँका हात्ती, बाघ, चितुवालगायतका वन्यजन्तु केही समय बसाइँका लागि अग्लो भूभाग खोज्दै नेपालको लालझाडीलगायतका वनक्षेत्रमा आउने गरेका छन्। हात्ती एक ठाउँबाट अर्को ठाउँ जाँदा आफ्नो पुस्तौँदेखि हिँडिरहेको बाटो प्रयोग गर्ने बताइन्छ।
सबडिभिजन कार्यालय, कुण्डाले वन्यजन्तुको सङ्ख्या एवं गतिविधिबारे अध्ययन गर्न यस क्षेत्रको केही ठाउँमा स्वचालित क्यामरा जडान गरेको थियो। क्यामराले वन क्षेत्रमा धेरै सङ्ख्यामा चितुवा देखिएकोे जनाइएको छ। पछिल्ला वर्षमा लालझाडी वन क्षेत्रमा चितुवा र चित्तलको सङ्ख्या बढेको वन अधिकृत यादवले जानकारी दिए। रासस