पाटन हत्या प्रकरण: थप एकजना पक्राउ

प्रकाशित:

बैतडी । बैतडीको पाटन नगरपालिका ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका ६ का २६ वर्षीय आशिष पहरी ९पुन्टु० रहेका छन् । उनलाई पाटन नगरपालिका-५ कुवापानी जंगलबाट बुधबार बिहान भागिरहेको अवस्थामा पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।

पुन्टुसहित विरभानका आफन्तले पाँचजनाविरुद्ध किटानी जाहेरी दिएका त्यसपछि मंगलबार जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता गरिएको थियोे । मुद्दा दर्ता भएकामध्ये सबै पाँचजना पक्राउ परिसकेकाले अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । यसअघि पाटन नगरपालिका ६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र किशोर भट्टराई र पाटन नगरपालिका ६ कै भरतमोहन विष्टलाई पनि नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामाथि प्रहरीले अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

असार १ गते शनिबाररातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो । भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । भागरथी सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका हुन् । भने मृतक ट्रक चालक रहेका थिए ।

असार १ गते राति नै विरभानको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि पक्राउ परेका अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्याको कारण पूर्ण रूपमा खुलिनसकेको भएपनि रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार