Saturday, July 13, 2024

लहानको कुन आँप कहिले पाक्छ, कहिलेदेखि आउँछ बजारमा?

प्रकाशित:

लहान  ।  लहानको आँप देशभर चर्चित छ। काठमाडौंसहित देशका सबैजसो ठूला सहरमा व्यापारीहरूले करिब एक महिनायता लहानको आँप भन्दै बेच्न थालिसकेका छन्। लहानको आँप भनेपछि ग्राहकहरू पनि किन्न हौसिन्छन्। आँपको भूगोलमा लहानले नाम कमाइसकेको छ।

धेरैलाई शंका पनि हुन्छ, के बजारमा बिकिरहेको आँप लहानकै हो खासमा लहानको आँप कस्तो हुन्छ? कहिले टिपिन्छ? कहिले पाक्छ? र, बजारमा कहिले आइपुग्छ? यिनै कुरा जान्न हामी शुक्रबार सिरहा जिल्लामा पर्ने लहान पुग्यौं। त्यहाँका आँप बगैंचा घुमेर किसान र व्यापारीहरूसँग कुराकानी गर्‍यौं।

पहेँला र हरिया आँपका झुप्पाले झाँगिएको लहानको एउटा आँप बगैंचामा शुक्रबार दिउँसो युवाहरूको एउटा समूह थियो। उनीहरू आँप टिप्न जम्मा भएका थिए। पातैसरी फलेको कलकतीयाका बोट छिचोल्दै उनीहरू मालदहका बोटतर्फ लम्किए। केहीले हातमा क्रेट बोकेका थिए, केहीको हातमा आँप झार्ने बाँसका ठूल्ठूला लगा (लाठी) थिए। कोही रूख चढेर हाँगा हल्लाउँदै आँप झार्न थाले।

हुरीबतासको वेगमा बोटबाट ड्यामड्याम आवाज गर्दै आँप झरिरहेका थिए। माथिबाट खस्दा एकाध आँप फुटे। केही युवक तलबाटै लगा लिएर टिप्न व्यस्त भए। करिब १५ जनाको समूहले केही बेरमै आँपको भारीले झुत्तिएका बोटमा पात मात्र बाँकी राखिदिए। आँप क्रेटमा हाले र टाउकोमा बोकेर प्याकिङ भइरहेको ठाउँसम्म पुर्‍याए। बिहानदेखि टिप्न थालेका युवाले साँझसम्म झन्डै दुई सय क्रेट आँप बटुले।

यो लहान नगरपालिकाका वडा नम्बर १ मा रहेको मटिअर्वा टोलमा पर्ने पदमनरायण चौधरीको बगैंचा हो। यहाँ चार दिनदेखि यसैगरी दिनभर आँप टिप्ने क्रम चलिरहेको छ। पदमको बगैंचा करिब ८ बिघा जमिनमा फैलिएको छ। यहाँ मालदह, कलकतीया, आम्रपाली लगायत प्रजातिका आँप छन्। पाँच/सात बोट बमोइ प्रजातिका पनि छन्। यी आँप भने ठेकेदारले टिपेर लगिसके।

चार दिनदेखि मालदह आँप टिप्न खटिएका लहानको विरहपुर बस्ने कामदार रौदी पासमानलाई हामीले त्यही बगैंचामा भेट्यौं। रौदीले भने, ‘यो बगैंचाबाट तीन गाडी आँप टिपेर पठाइसक्यौं। आज हालिरहेको चौथो गाडी हो। आँप टिप्ने, बटुलेर एक ठाउँ जम्मा गरेर प्याक गर्ने र गाडीमा हाल्ने काममा हामी १५ जना खटिएका छौं। जेठको दोस्रो हप्तादेखि असारभरि हामी यही काम गर्छौं।’

उनका अनुसार‍ आँप पाक्न जेठ १५ गतेपछि सुरू हुन्छ। यहाँका किसान तथा व्यापारीले भने जेठ दोस्रो साता लाग्नेबित्तिकै टिप्न सुरू गर्छन्। स्थानीय नागेन्द्र प्रधानले पदमको सहित १६ बिघा जमिनको आँप बगैंचा ठेक्का लिएका छन्।

बमोइ लगभग सिक्किएपछि अहिले लहानमा दैनिक सयौं किलो मालदह आँप टिपेर व्यापारीले काठमाडौं, पोखरा, हेटौंडा, धरान लगायत सहरमा पठाइरहेको उनले बताए।

‘मालदह खासै पाक्ने बेला भएको छैन तर मजदुरहरूले केही बोटमा पाकेका आँप भेट्टाएका छन्। मालदहको माग एकदम धेरै भएर अहिल्यै टिपेर बेच्न पठाउन लागेका हौं,’ उनले भने।

प्रधानका अनुसार लहानसहित मधेसका हरेक ठाउँमा माघमा आँपको बोटमा कोपिला लाग्छ। यसलाई स्थानीय भाषामा आँप गुजरिएको पनि भनिन्छ। फागुनमा मंजर (फूल) फूल्छ। चैतमा टिकुला (चिचिला) लाग्छ भने वैशाखमा हुर्किँदै बिउसहितको आँपको रूप लिन थाल्छ। जेठ १० गतेपछि एकाध प्रजातिका आँप पाक्न थाल्छन्।

सरस्वती कृषि फर्मका सञ्चालक नागेश्वर महतो एक बिघा खेतमा आफै आँप खेती गर्छन्। पाँच बिघा उनले ठेक्का लिएका छन्। उनका अनुसार बेच्ने उद्देश्यले लहानमा जेठ १० गतेदेखि आँप टिप्न सुरू भएको छ।

‘व्यापारीले धेरै फाइदा गर्ने चक्करमा अलि पहिल्यै बमोइ आँप टिपेर दबाइ राखेर बेच्न थाले। मैले पनि टिपेर बेचेँ। जबकि बमोइ अहिले मात्रै बोटमा आफै राम्ररी पाक्न थालेको हो,’ उनले भने, ‘मालदह पनि टिप्ने बेला भएको छैन। अझै एक हप्तापछि मात्र पाक्न थाल्छ। दसहरी पनि मालदहसँगै पाक्छ। तैपनि माग आइसकेपछि हामीले एक हप्तायता टिपेर बेच्न थालेका हौं।’

लहानमा आँपसहितका फलफूल नर्सरी सञ्चालन गरेका अर्का स्थानीय हुन् शिवजी महतो। लहानसहित मधेसभर सबभन्दा पहिले जर्दा र गुलाब खास नामक प्रजातिका आँप पाक्ने उनी बताउँछन्।

‘रोहिणी नक्षत्र चढ्नासाथ यी दुवै प्रजातिका आँप पाक्न थाल्छन्। ढिलोमा जेठ पहिलो वा दोस्रो साता यो नक्षत्र चढ्छ। लहानमा खासै धेरै यी प्रजातिका आँप रोपिएको छैन। केहीले थोरै लगाएका छन् जुन आफै खाएर सक्किन्छ,’ उनले भने।

लहानमा जेठ दोस्रो सातापछि बमोइ प्रजातिका आँप पाक्न सुरू हुने उनले बताए। यहाँ बमोइ आँपका समेत तीनवटा उपप्रजाति छन्; भुइँलोट, डोमा र सुरूज।

‘सुरूज बमोइ उज्यालो, आकर्षक र सेतो देखिन्छ। डोमा बमोइ गाढा हरियो र कालो हुन्छ। यसमा ससाना थोप्ला पनि हुन्छन्। भुइँलोट भने यी दुबैभन्दा आकारमा ठूलो हुन्छ तर खासै स्वादिलो हुँदैन। यो अरूभन्दा पहिले पाक्छ। डोमा र सुरूज चाहिँ एकैपटक पाक्छन्,’ महतोले भने।

यहाँ मालदह आँप पनि दुई प्रकारको पाइन्छ। एउटा हरियो हुन्छ र अर्को सेतो-चम्किलो। सेतो-चम्किलो देखिने मालदह लहानको आँपको पहिचान भएको महतोले बताए।कलकतीया आँप पनि दुई किसिमकै पाइन्छ; सामान्य र लखनउवाला। यी दुबै कलकतीया आँप असार १५ गतेपछि मात्रै पाक्ने बेला हुन्छ।त्यस्तै दसहरी पनि एउटा सानो र एउटा ठूलो आकारमा फल्छ।

आम्रपाली पनि दुई किसिमकै हुन्छ। हेर्दा फरक देखिन्छ तर स्वाद एउटै हुन्छ,’ महतोले भने, ‘अहिले यहाँ हाइब्रिड आँप पनि रोप्न थालेका छन्। सुनरेखा, मलिका, लिलम, लालमोहन जात हाइब्रिड हुन्। पाकिस्तानी भदैया आँप भर्खरै भित्रिएको छ जुन असोजमा पाक्छ।’

लहान नगरपालिकाका कृषि संयोजक बद्रिनारायण चौधरीका अनुसार यसपालि नगरपालिकाका २४ वटै वडामा करिब पाँच सय टन आँप फलेको छ।यसमध्ये मालदह मात्रै साढे दुई सयदेखि ३ सय टन उत्पादन हुन्छ। त्यसपछि कलकतीया, आम्रपाली, बमोइ र दसहरीको मात्रा धेरै हुन्छ।

‘फलफूल खेती अझै विस्तार होस् भनेर नगरपालिकाबाट आँपसहितका बोटबिरूवामा हामीले ५० प्रतिशत अनुदान दिएका छौं,’ वडा नम्बर १२ का अध्यक्ष समेत रहेका बद्रिनारायणले भने।

ताजा समाचार

सम्बन्धित समाचार