सेती अस्पताल धनगढीमा चोरहरुको बिगबिगी

प्रकाशित:

धनगढीः सेती प्रादेशिक अस्पतालमा चोरीका घटना बढी रहेका छन्। अस्पतालमा हरेक दिन बिरामी तथा कुरुवाको सामान चोरी हुन थालेको हो।

सेती अस्पतालको विभिन्न वार्डबाट सामान चोरी हुने गरेको बिरामी तथा तिनका कुरुवाले बताएका छन्। अस्पतालबाट रातको समयमा मात्र नभएर दिउँसोसमेत सामान चोरी हुन थालेको छ। चोरहरूले मुख्य निसाना मोबाइललाई बनाउने गरेका छन्। अस्पतालबाट मोबाइल र पैसा मात्र नभएर बिरामीका कागजपत्र समेत चोरी हुन थालेका छन्। सेतीमा चोरहरुको बिगबिगी बढ्न थालेपछि सेवाग्राही हैरान छन्।

नागरिकता र चेकबुक चोरी
गत चैत १३ गते लडेर घाइते भएका बैतडीको पुर्चौडी नगरपालिका–७ का नवराज अवस्थी अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। करङ्ग र मेरुदण्डमा चोट लागेर शल्यक्रिया पश्चात् अवस्थीको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा सुधार भइरहेको छ तर जेठ १८ गते दिउँसोदेखि भने बिरामी अवस्थी र उनका दाजु कृष्णानन्द अवस्थी तनावमा छन्।

मेरुदण्ड पक्षघातको शल्यक्रिया गरेका अवस्थीको शुक्रवार दिउँसो नागरिकता, बैकंको चेकबुक र सरकारबाट उपचार सहायता पाउन पालिकाबाट ल्याइएका सिफारिसका कागजात चोरी भएका हुन्। जेठ १८ गते शुक्रवार दिउँसै कागजात चोरी भएको बिरामी नवराजका दाजु कृष्णानन्द अवस्थीले बताए।

‘शय्यामै क्लियरब्यागमा हालेर नागरिकता, बैंकको चेकबुक र वडा तथा नगरपालिकाको सिफारिस पत्र थियो। दिउँसो कतिबेल कसले लग्यो थाहै भएन। मन्त्रालयमा बुझाउन तयार पारेको फायल गायब हुँदा समस्या भयो। चोरले चेक दुरुपयोग ग¥यो भने के गर्ने भन्ने चिन्ता थपिएको छ’, अवस्थीले भने।

मोबाइल र पैसा चोरको निसानामा
सेती प्रादेशिक अस्पतालमा विभिन्न वार्ड तथा आइसियू कक्षको कुरुवा बस्ने कोठाबाट समेत मोबाइल चोरी हुने गरेको छ। आइसियू बीको कुरुवा बस्ने कोठाबाट जेठ ९ गते राति तीन जनाको मोबाइल चोरी भएको धनगढी–३ मिलनचोकका स्थानीय जितेन्द्र बमले बताए। उनले एकैदिन रातको समयमा तीन जना कुरुवाको मोबाइल चोरी भएको बताए।

‘आइसियू ‘बी’ मा जेठ ९ गते राति तीन जनाको मोबाइल चोरी भएको हो’, उनले भने, ‘एकजनाको सादा मोबाइल अर्कोको १८÷२० हजारको र एक जना चौधरी जीको ५२ हजारको भर्खरै किनेको मोबाइल चोरी भयो।’ सेती प्रादेशिक अस्पतालमा चोरहरूको निसानामा मोबाइल र पर्सहरू पर्ने गरेको एक जना सुरक्षागार्डले बताए। अस्पतालमा चोरीका घटना दिनहुँ हुने गरेको गुनासो आउने गरेको उनले बताए।

छैन सुरक्षाको व्यवस्था
मोबाइल र पैसा चोरी हुने घटना भइरहने सेतीमा बिरामीका कागजात समेत चोरी हुन थालेका छन्। बिरामी तथा कुरुवाले सामान चोरी भएको गुनासो गर्दै आएपनि अहिलेसम्म चोरी भएको समान र चोर फेला पार्न सकिएको छैन। अस्पतालबाट हरेक दिन बिरामी तथा कुरुवाका सामान्यदेखि महङ्गा मोबाइल हराउने गरेका छन्। तर, चोरी नियन्त्रण गर्न अस्पताल व्यवस्थापन तथा प्रशासनले सकेको छैन।

चोरी हुन नदिन व्यक्ति स्वयं सचेत हुनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘चोरी हुन नदिन पहिला त व्यक्ति स्वयंले सचेत हुनुपर्छ। हामीले सूचना पनि सम्प्रेषण गर्ने गरेका छौँ’, उनले भने, ‘अस्पतालभित्र प्रवेश गर्न कुरुवा कार्डको व्यवस्था पनि गरेका छौँ।

थप सिसिटिभी जडान गरेर पनि चोरी नियन्त्रणको प्रयास गरिनेछ।’ सेतीमा लामो समयसम्म भर्ना भएर उपचार गरिरहेका बिरामी चोरहरूको निसानामा पर्ने गरेका छन्। एकतर्फ बिरामी हुँदा समस्या परेको हुन्छ भने अर्कोतिर नगद पैसा, मोबाइल र कागजात चोरी हुँदा बिरामीले थप पीडित हुनुपरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार