महेन्द्रनगर । व्यावसायिक उत्पादन गरिएको तरकारीले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । व्यावसायिक प्रयोजनका लागि तरकारी लगाउँदै आएका किसानले व्यावसायिकरूपमा खेती गरेका थिए ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ स्थित सुन्दरनगरमा करिब १० कट्टा जग्गा भाडामा लिएर प्रेम रोकायाले बोडी,लौका,फर्सीखेति गरेका छन् । अहिले उत्पादित तरकारीले बजार नपाएको गरोकायाले बताए।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
“स्थानीय बजारलाई मध्यनजर गर्दै व्यावसायिक तरकारी खेती सुरु गरियो, उत्पादन असाध्यै राम्रो छ, तर बिक्रीका लागि बजार छैन, बजार अभावमा टिपेर त्यसै फाल्नुपरेको छ”, उनले भने । हाल प्रतेक २ दिनमा न्यूनतम १०० किलोदेखि बढीमा एक सय ५० किलोसम्म तरकारी उत्पादन भइरहेको उनले बताए । स्थानीय बजारमा बिक्री नभएपछि भीमदत्तको बजारमा सस्तो मूल्यमा ढुवानी खर्चेर पठाउन बाध्य भएको रोकायाले बताए ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
“दिनहुँ तरकारी उत्पादन भइरहेको छ, स्थानीय र स्थानीय बजारका व्यापारीले यहाँको उत्पादन खरिद गर्दैनन्, सस्तो मूल्यमा भारत बाट खरिद गरेर ल्याउछन । उत्पादन भइरहेको तरकारी सस्तो मूल्यमा बाहिर पठाउँदा लागत पनि उठाउन धौधौ परेको छ”, उनले भने, “बजारीकरणको राम्रो प्रबन्ध नहुँदा हामी किसानलाई मार खेप्नु परिरहेको छ ।” गत बैशाखदेखि उत्पादन दिन थालेको बोडी हालसम्म २० क्विन्टल भन्दा बढी उत्पादन भइसकेको छ ।
यस क्षेत्रमा उत्पादन भएको भिण्डीको बजार मूल्य सरदरमा न्यूनतम प्रतिकिलो रु ४० देखि बढीमा रु एक सयसम्म रहेको छ । उत्पादन भएको बोडी मध्ये २/३ क्विन्टल बोडी बोडी पनि स्थानीय बजारमा खपत नभएको किसान बताउँछन् । बोटमा अझै पनि उत्पादन दिइरहेको छ । दैनिक तरकारी टिपेर बाहिरका बजार खोज्दै पठाउनुपर्दा किसानलाई खेती गरेर लागत उठाउन समस्या परिरहेको छ । अहिलेसम्म तरकारी बिक्रीबाट करिब रु १ लाखसम्मको आम्दानी भएको रोकायाले बताए । बजार अभावमा तरकारी घरमै कुहाएर फाल्न बाध्य भएको उनले गुनासो गरे ।
अहिले बोडीको मूल्य बजारमा प्रतिकिलो रु ५० देखि ५५ रहेको किसान बताउँछन् । किसानले लागतअनुसारको मूल्य पनि पाउँदैनन् भने भनेको समयमा बजार सहज नहुँदा उत्पादन बेला–बेलामा त्यसै खेर फाल्नु परिरहेको छ । तरकारीबाट राम्रो उत्पादन लिन सकिने सम्भावना छ । बजारीकरणको झन्झटले किसानले भरसक यसको व्यावसायिक खेती गर्न मन पराउँदैनन् ।
टिपेर धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसका लागि फल टिप्नेबित्तिकै बजार चाहिन्छ । स्थानीय बजारमा भारत बजारबाट कृषि उपज भित्रिने गरेकाले व्यापारीले स्थानीय उत्पादनलाई महत्व दिँदैनन् । विषादी प्रयोग गरिएका सस्ता कृषि उपज खरिद गरी बिक्री गर्ने आदत परेका व्यापारीले स्थानीय उत्पादन भरसक खरिद गर्न खोज्दैनन् ।