महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैबाहाँका ३१ वर्षीय गणेश चौधरी ४९ दिनदेखि अस्पतालमा छन्। गत चैत २३ गते कामबाट घर फर्किए लगत्तै बेहोस भएका चौधरी अहिले धनगढी स्थित मायामेट्रो अस्पतालमा छन्।

मस्तिष्कघात भएर बेहोस भएका चौधरीको चैत २३ गतै नै शल्यक्रिया गरिएको हो। पाँच लाख खर्च लाग्ने भनेर शल्यक्रिया गरिएका चौधरीको उपचारमा अहिलेसम्म १३ लाख बिल आइसकेको चौधरीकी दिदि आरती चौधरीले बताइन्। अस्पतालमा केबल २ लाख रकम मात्रै जम्मा गर्न सकेको र बाँकी ११ लाख जुटाउन समस्या भइरहेको बेला चिकित्सकले दोस्रो शल्यक्रिया गर्नुपर्ने बताएको आरतीले बताएकी छिन्।

चौधरी दैनिक मजदुरी गरेर घर खर्च चलाउने र खेत तथा अन्य सम्पत्ति नभएकाले खर्च जुटाउन समस्या भएको आरतीले बताएकी छन्। पहिलो शल्यक्रियाको ११ लाख रकम बुझाउन नसकेको अवस्थामा भाइको दोस्रो शल्यक्रिया गर्नुपर्ने भएकाले खर्च जुटाउन के गर्ने भनेर चौधरीको परिवार चिन्तित भएको छ। वृद्ध बुवा, श्रीमती र दुई छोराछोरीको समेत लालनपालन गर्ने जिम्मेवारी भएका गणेश अचेत भएर ढलेदेखि उनको परिवारमाथि बज्रपात परेको छ।

ससुरालीले दिएको एक कट्ठा जग्गामा घर बनाएर करिब पाँच कट्ठा ऐलानी जग्गा मात्रै रहेका चौधरीको उपचार रकम चुक्ता गर्न समस्या हुने भएपछि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ। विपन्न परिवारलाई सरकारले एक लाख उपचार खर्च दिने भए पनि १३ लाखको बिल आइसकेको छ र दोस्रो शल्यक्रिया गर्दा अझै कति लाग्छ भन्ने टुङ्गो नभएकाले आर्थिक सहयोगका लागि चौधरी परिवार भौतारिएको छ। तर, उनको परिवारले सहयोग गर्ने कोही व्यक्ति भेट्टाएका छैनन्।
उपचार गर्न समस्या भएको समाचार लेख्न मिडियाकर्मी तथा विभिन्न युट्युबरहरूलाई अनुरोध गर्न खोज्दा समेत धेरैजसोले फोनसमेत नउठाएको चौधरीका भिनाजु जीवन श्रेष्ठले बताए। चौधरीको उपचारमा आर्थिक समस्या भएकाले सक्दो सहयोग गर्न सार्वजनिक अपिल गरिएको छ। स्वदेश तथा विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई बिरामी चौधरीको श्रीमती श्रीदेवी चौधरी को एनएमबी बैंकको खाता नम्बर ११८०१८०७५९७०००१८ मा सक्दो सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ।