Tuesday, July 23, 2024

लम्कीको प्रचण्ड गर्मीमा स्याउ फलाउँदै गोकर्ण ओली

प्रकाशित:

धनगढी । कैलालीको लम्कीमा तीन बिघा जग्गामा स्थानीय किसान गोकर्ण ओलीले स्याउ खेती गरेका छन्। तराईको प्रचण्ड गर्मीमा समेत स्याउ फलाउन सकिन्छ भन्ने कुरा ओलीले प्रमाणित गरेका छन्।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरमा रहेको स्याउ बगैँचामा अहिले लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुने गरेकोमा तराईको गर्मीमा पनि किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका हुन्। यो वर्ष बगैँचाको ५० वटा बोटमा स्याउ फलेकामा अर्को वर्षबाट सबै बोटमा स्याउ फल्ने ओलीले बताए।

२०७८ सालमा ओलीले भारतको हिमाञ्चल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। ओलीले ४८ डिग्री सेल्सियससम्मको तापक्रममा फल्न सक्ने हर्मन ९९ जातको स्याउ रोपेका छन्। बगैँचामा एक हजार २ सय बिरुवा रोपेको भए पनि अन्य बिरुवाको फूल झारेर पचास बिरुवा मात्रै फल लाग्न दिएको उनले बताए। ‘लगाएको एक वर्षमै फलेको हो स्याउ तर गत वर्ष २० बिरुवाबाहेक अन्यको फूल झारेको थिएँ,’ उनले भने, ‘यो वर्ष ५० बिरुवामा बाहेक अन्यको फूल झारिएको छ। अर्को वर्षबाट सबै बिरुवामा स्याउ फल्छ।’ फूल नझारिएको बोटमा लागेको स्याउ जेठ अन्तिम सातादेखि असार पहिलो सातासम्म पाक्ने छ। अर्को वर्षदेखि भने बगैँचामा रोपिएका सबै बोटमा स्याउ फलाउन सकिने ओलीले बताए।

तराई क्षेत्रमा व्यावसायिक रूपमा स्याउ खेती गर्ने पहिलो किसान बन्न सफल ओलीले स्याउको बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ। अर्को वर्षदेखि एक बोटमा आठदेखि १० किलोग्राम स्याउ फलाउन सकिनेछ। बिरुवा लगाएको तीन वर्षपछि फल्न दिनुपर्ने र पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलोग्रामसम्म स्याउ फलाउन सकिने ओली बताउँछन्।

‘तीन वर्षसम्म बिरुवामा फल लाग्न दिन हुन्न भनेर अन्य बिरुवाको फूल झारिएको हो। अर्को वर्षबाट सबै बिरुवामा स्याउ फलाउन सकिन्छ। पाँच वर्षपछि एक बोटमा ५० देखि एक क्विन्टलसम्म स्याउ फल्ने अनुमान छ,’ ओलीले भने। ओलीले स्याउ खेती गर्न अहिलेसम्म ८० लाख लागत लागिसकेको बताएका छन्। उनले स्याउसँगै बगैँचामा अम्बा र बयर पनि रोपेका छन्। उनको बारीमा एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर रोपिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार