मझगाउँ विमानस्थलः निकुञ्ज र सेनाको अवरोध छिचोल्दै चल्यो डोजर

प्रकाशित:

महेन्द्रनगर । मझगाउँ विमानस्थल सञ्चालन समिति लगायतको अगुवाईमा सोमबार डोजर लगाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाका कारण अवरुद्ध मझगाउँ विमानस्थलको निर्माणको कार्यका लागि सोमबारदेखि जनस्तरबाटै डोजर लगाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई चोटी भेटेर मागपत्र बुझाएर पनि समस्या समानधान नहुने देखिएपछि मझगाउँ विमानस्थल सञ्चालन समिति लगायत जनस्तरबाटै निर्माण कार्यको थालनीका लागि डोजर चलाइएको हो ।

समितिले आइतबार साँझ गरेको पत्रकार सम्मेलनमा समितिका सचिव राजेन्द्र चन्दले ठेकेदार कम्पनीले जनताको साथ विना अवरुद्ध निर्माण कार्य अघि बढाउन नसकिने भनेपछि समिति डोजर लगाउने अवस्थामा पुगेको बताएका थिए ।

विमानस्थल निर्माणको ठेक्का कान्छारामा कन्स्ट्रक्सनले तीन वर्षमा निर्माण कार्य पूरा गर्ने शर्तमा ४५ करोड ६६ लाखमा विमानस्थल निर्माणको ठेक्का लिएको हो ।

पाँच वर्ष अघि २०७६ मा पूर्व डिएफओ रमेश चन्द ठकुरीको नेतृत्वमा विमानस्थल सञ्चालनका लागि नागरिक स्तरबाट समिति गठन गरिएको थियो ।

नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले साझेदारीमा २०७८ मा ४५ करोड ६६ लाखमा ठेक्का भएर पुनः सञ्चालनका लागि निर्माण कार्य अघि बढेको हो ।

विमानस्थल निर्माण सुरु भएर सेना र निकुञ्जबाट पटक पटक अवरोध भएपछि राजनीतिक दलबाट अपेक्षाकृत सहयोग नभएको संयोजक चन्दले असन्तुष्टि पोेखे ।

विमानस्थल दक्षिणतिर विस्तार भए एक हजार पाँच सय २५ मिटर लम्बाईको धावनमार्ग हुने छ । यस अघि एक हजार मिटर भएको धावनमार्गलाई विस्तार गर्न सके विमान चलाउन सकिने सम्भाव्यता अध्ययनमा देखिएको थियो । त्यसपछि सेना र निकुञ्जसित छलफल गरी ठेक्का भएको हो ।

विमानस्थलसित हाल ५२ बिगाहा जग्गा छ । त्यस बाहेक सेना र निकुञ्जले निर्माण अवरोध गरि रहेको २२ बिगाहा जग्गामा विमानस्थल विस्तार गर्न खोजिएको हो । त्यहीं क्षेत्रमा सेना र निकुञ्ज दुबैले अवरोध गरेका हुन् ।

सेनाले राजपत्रमा विमानस्थलको क्षेत्र प्रकाशन भएपछि २२ बिगाहा जग्गा आफ्नो नाममा पूर्जा बनाएको छ । सरकारको निर्णय विना तत्कालिन चण्डीदल गणले जग्गाको पूर्जा बनाएको थियो ।

हालसम्म विमानस्थल निर्माण कार्यको प्रगति ३६ प्रतिशत भएको छ । ९ सय ७० मिटर धावन मार्ग निर्माण गरिएको छ । अवरोधका कारण दक्षिणतिर निर्माण कार्य अघि बढाउन सकिएको छैन ।

२०७७ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको साझेदारीमा विमानस्थल निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार भीमदत्त १५ प्रतिशत, दोधारा चाँदनी १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार २५ प्रतिशत र बाँकी ५० प्रतिशत लगानी संघ सरकारको व्यहोर्ने भएका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार