महेन्द्रनगर । आज शुक्रबार अपरान्ह पाँच बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।
यसका लागि सबै तयारी पुरा भइसकेको छ। मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठक आह्वान गर्न भन्दै यसअघि नै पत्र पठाइसकेका छन्। सोही आधारमा प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए।
सोडारीलाई मुख्यमन्त्री नियुक्तिमा समर्थन गरेको एमाले अनिर्णित हुँदा अन्योल देखा परेको छ। एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले शुक्रबार विश्वासको मत लिने दिनेमा संसदीय दलमा कुनै निर्णय नभएको बताइन्। ‘आज विश्वासको मत दिने संभावना देखिदैन, हामी छलफलकै क्रममा छौँ, विश्वासको मत दिने विषयमा ठोस निर्णय भएको छैन्।’
विश्वासको मतको कार्यसूची निर्धारण गर्न शुक्रबार बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आव्ह्रान गरिएको थियो। तर उक्त बैठक पूर्व निर्धारित समयमा बस्न सकेको छैन। नेपाली कांग्रेस संसदीय दलले भने विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रियाको प्रतिवाद गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य एवं पुर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले विश्वासको मतसम्बन्धी प्रस्तावको प्रतिवादी गर्ने बताए। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।
सुरुदेखि विभाजित नागरिक उन्मुक्ति पार्टीका सांसदहरु विश्वासको मतमा पनि दुई खेमामा देखिएका छन्। कूल सात जना सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना सांसद ९रेशम पक्षधर० विश्वासको मत नदिने पक्षमा अडिग छन्।
शुक्रबार विश्वासको मतको पक्षमा मतदान नगर्न रेशम पक्षीय सांसदले ह्वीप जारी गरेका छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर रहेका दुई जना सांसद भने मत दिने पक्षमा छन्। कैलाश चौधरी र टीका थापा दुई जना सोडारी मन्त्रिपरिषद्मा मन्त्री छन्। प्रदेशमा एमाले अनिर्णित भएकाले प्रधानमन्त्री र एमाले अध्यक्षको तहमा छलफल भइरहेकाले त्यसको निष्कर्षपछि मात्रै यकिन हुने देखिएको छ।