महेन्द्रनगर । सुदूरपश्चिममा इलाज सम्वन्धि कसुर अन्तर्गत ९ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म इलाज सम्वन्धि कसुर अन्तर्गत ९ वटा निवेदन प्रहरीमा दर्ता गरिएको हो। फौज्दारी संहिताको नयाँ प्रावधानमा चिकित्साकर्मीको लापरबाहीको कारणले कुनै बिरामीलाई क्षति भएमा त्यस्तो क्षति भराइदिनुपर्ने प्रावधान छ।

‘इलाज सम्बन्धी कसुर’को दफा २३१ मा गलत नियतबस उपचार गरी ज्यान गएमा ज्यानमारा सरहको सजाय गरिने व्यवस्था छ। कसैको ज्यान गएकोमा ज्यान मारे सरह र कसैको अंगभंग भएमा अंगभंग गरे सरहको कैदको व्यवस्था समेत गरिएको छ। दफा २३१ मा भनिएको छ, ‘कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनुपर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन।’

सो परिच्छेदमा चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यताप्राप्त गरेपछि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिबाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन भनिएको छ।

सोही भागको दफा २३९ मा त्यस्तो कसुर गरेको कारणबाट कसैको ज्यान गएमा वा अंगभंग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसुरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था छ।
सो अपराधमध्ये ज्यान मर्न गएकोमा कुनै हदम्याद नलाग्ने र अंगभंगको कसुर भएकोमा ६ महिनाभित्र उजुर गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै मुलुकी अपराध संहिता ऐनको नयाँ व्यवस्थामा डाक्टरको लापरबाहीको कारण उपचारको क्रममा बिरामीको मृत्यु भएमा वा अङ्गभङ्ग भएमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको प्रावधान छ।


