कञ्चनपुरको जोगबूढा नदीमा तटबन्ध बन्दा स्थानीयलाई राहत

प्रकाशित:

महेन्द्रनगर । बर्सेनि बाढी कटानले सताउने कञ्चनपुरको दोधारा–चाँदनी–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध बनाइएको छ। महाकाली र जोगबूढा नदीको कटानले आजित बनेका स्थानीय तटबन्ध बनेपछि राहत पाएका छन्। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष २ सय १ मिटर तटबन्ध निर्माण गरेको छ। कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुंगे पुलबाट २ सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताए।

‘यस वर्ष महाकाली नदीमा ५–६ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ।’ उनका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब ८ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ। दोधारा–चाँदनी नगरपालिका–१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो।

दोधारा–चाँदनी–१ स्थित नेपाल–भारत सीमा प्रारम्भविन्दुमा कंक्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले बताए। महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष १६ करोड बजेट आएको थियो। सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो। यसको ठेक्का शंकर जोशी जेभीले पाएको थियो। जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन्।

बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा–चाँदनी नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउँछन्। दोधारा–चाँदनी–१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ। बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन्।

महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ। जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताए। कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको बुढाले बताए। –रासस

ताजा समाचार

सम्बन्धित समाचार