कञ्चनपुरमा युवक मृत्यु प्रकरणः प्रहरी हवल्दारसहित दुईजना कारागार चलान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा प्रहरीले माघ २८ गते दुई जनालाई पक्राउ गर्‍यो। मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो। चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको थियो। पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन्। राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए।

रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। लालझाडी गाउँपालिका–३ बल्मीका २५ वर्षीय राजकुमार राना मृत्यु प्रकरणमा प्रहरीका एक सहायक हवल्दारसहित दुईजना कारागार चलान भएका छन्। राजकुमार मृत्यु प्रकरणमा पक्राउ परेका प्रहरी सहायक हवल्दार महेश चौधरी र अर्का युवक चेतराम भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

लालझाडीका राजकुमार कृष्णपुर नगरपालिकाको एक सामुदायिक वनमा मृत फेला परेका थिए। राजकुमार मृत्यु प्रकरणमा चार महिनापछि मृतककी श्रीमती सुशीला रानाले किटानी दिएकी थिइन्। उक्त किटानीकै आधारमा गत माघ अन्तिम साता चौधरी र भण्डारी पक्राउ परेका थिए। पक्राउ परेका चौधरी र भण्डारीविरुद्धमा प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले मृतक राजकुमारकी श्रीमती सुशीलाले दिएको किटानीका आधारमा चौधरी र भण्डारीलाई पक्राउ गरेर सरकारी वकिलमा मुद्दा दर्ता गरेको बताए। बिहीबार भएको थुनछेक बहसमा चौधरी र भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए। पाँच महिनाअघि सडेगलेको अवस्थामा मृत फेला परेका राजकुमारको सुरुवातमै हत्या भएको आशंका गरिएको थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार