कैलाली । कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ। आज बिहीबार बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो।
यो मुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ। ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’टीकापुर बजार क्षेत्रको करिब ३० बिघा ९६०० कट्ठा० सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।
अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो ।यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् ।जसमा टीकापुर विकास समितिका सबैजसो पदाधिकारी परेका छन्।धेरैजसो प्रतिवादी अछाम जिल्लाका छन्।
टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो।यसबारेमा अख्तियारको अनुसन्धानले भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि मुद्दा चलाउने निर्णय भएको हो।