Thursday, May 30, 2024

प्रेमको छटपटाहट

प्रकाशित:

महेन्द्रनगर अहिलेको समयमा माया प्रेमको लागि दिनप्रति दिन ज्यान दिने केटाकेटीहरुको संख्या निकै बढ्दै गइरहेको पाईन्छ । कतिपय ठाँउमा सानै उमेरका बालबालिकाहरुले प्रेमको लागि आत्महत्या गरेको समेत तपाई हामीले आफ्नै आखाँले प्रत्यक्ष रुपमा नै देख्दै आइरहेका छौँ ।

आखिरमा प्रेम के हो त ? यसको कुनै निश्चित परिभाषा दिनै सकिदैन । प्रेम कुनै शब्द वा वाक्यहरूमा मात्रै समेत सीमित छैन । साँँच्चै भन्ने हो भने प्रेमको न कुनै रङ छ, न त कुनै वस्तुपरक स्वाद । केवल एउटा अनुभूति, अस्तित्वहीनतामै एउटा बलियो अस्तित्व बोकेको अच्चमको शब्द छ प्रेम । यस्तै विषयमा एकजना महिला अमृता कुवँर संग कुराकानी गर्छौ । उनले २०७३ सालमा प्रेम गरेर भागी विबाह गरेकी बताउँछिन । उनि भन्छिन,’मुस्काउँदा, मुस्कानमै प्रेम, बोल्दा आवाजमै प्रेम, गाउँदा गीतमै प्रेम, नाच्दा नृत्यमै प्रेम । प्रेमलाई रोकेर कसले रोक्न सक्छ र? छेकेर कसले छेक्न सक्छ र? प्रेमको बीचमा सातसमुद्र बगाऊँ वा अग्ला-अग्ला पर्वतमाला वा पूरै हिम-शृंखला ठड्याऊँ अहँ, साम्य हुँदैन प्रेमको आवेग ।अहिलेसम्म प्रेमको परिभाषा न त कसैले दिन सकेको छ, न त कसैले दिननै सक्ने कुरा उनले बताउछिन ।’

आखिरमा के हो त प्रेमको परिभाषा के तपाईलाई थाहा छ? तर कुवँर भन्छिन जब कसैसंग प्रेम बस्छ उसको हेराइमा प्रेम, स्पर्शमा प्रेम, आलिङ्गनमा प्रेम, चुम्बनमा प्रेम हुन्छ । यतिसम्म कि कुनै विद्वान्ले कतै सोधेकै छन् । ‘प्रेममा शरीर अप्रासङ्गिक छ र ?’ यस अर्थमा अनुमान लगाउन सकिन्छ कि प्रेम भनेको अनुभूति एउटा महसुसको विषय हो । माया-प्रीतिको सन्दर्भमा प्रेमको उत्पत्ति हुन्छ । भनून् त कसैले प्रेमबिना को बाँच्न सक्छ र यो संसारमा । प्रेमकै कारणले गर्दा यो संसार चलेको छ । यहाँ सम्म कि प्रेमकै कारण भगवान शिव समेत आफ्नो प्रेमिका अर्थात श्रीमती माता सतीको लागि पागल भएर हिडेका थिए हामी त मान्छेनै हौ । प्रेम छ र त श्वास छ, प्राण छ । प्रेम छ र त जीवन छ । अनुमान गर्न सक्छन् कसैले उसको प्रेम आयतन नाप्ने मापदण्ड कहाँ छ, कसैसँग छ त?

बतास चल्छ चिसो, प्रेमबिना बहने बतास के बतास? घाम लाग्छ घमाइलो, प्रेमबिनाको घामको न्यानो के न्यानो? साँझ चन्द्रमा उदाउँछ, प्रेमको शीतलता नभएको चन्द्रमाको केको रौनकता? प्रेम छैन भने ताराहरू चम्किनुको के अर्थ? झरना प्रेमको छहरा, नदीनाला प्रेमको, डाँडाकाँडा, पाखा,पर्वत, कुनाकन्दरा प्रेमको, सागर प्रेमको सबै प्रेमको । यो ब्रह्माण्डै प्रेमको । सर्वव्यापी बालक रहँदा प्रेम, स्नेहको प्रेम, जवान छँदा प्रेम, यौवनको वृद्ध हुँदा प्रेम, सहानुभूतिको र चितामै जल्दाजल्दै पनि प्रेम । आँसुका थोपाहरूको प्रेमका रूप अनेक । अलग-अलग प्रेमको स्वरूप । खोज्दैमा कहाँ पाइन्छ प्रेम? माग्दैमा कहाँ पाइन्छ? स्वनिर्मित प्रेम, आँखा हुँदैन प्रेमको, शायद मस्तिष्क पनि हुँदैन, हुन्छ त हृदय हुन्छ पे्रमको जोे आफैँ गन्तव्य निर्धारण गर्छ र आफैले यात्रा तय गर्छ ।

उनि भन्छिन,’हामी लाख कोशिश गरूँ प्रेम नगरूँ तर नगर्दैमा प्रेम हुँदैन र? प्रेमले कुनै व्यापार गर्दैन, कुनै लेनदेन गर्दैन, कुनै हिसाब किताब नै गर्दैन । अनुरोधमै पनि प्रेम, स्वीकृतिमै पनि प्रेम, सहमतिमा पनि प्रेम, सम्झौतामा पनि प्रेम । साँच्चै प्रेमको सामुन्ने तुलना गर्न योग्य विषय-वस्तु नै के छ र? प्रेम नै उच्चताको सगरमाथा, प्रेम नै गहिराइको प्रशान्त महासागर, अथाह प्रेमको आकार कुनै टुप्पो वा छेउको भेउ कसैले पत्ता लगाउन नसक्ने कुरा उनि बताउँछिन ।’

के साच्चिकै प्रेम यस्तो हुन्छ त? उनले भनिन,’कुन रगत ? कुन परिश्रम? कुन पसिना? चिन्दैन प्रेमले केहीलाई कसैलाई । सायद यही अर्थमा प्रेम अन्धो छ, केही पनि देख्दैन । अँध्यारो उज्यालो केही जान्दैन । भन्छन् प्रेम भनेको युद्धजस्तै हो । यसमा कतै केही रोकटोक छैन, सबै जायज छ । तर बुझुन प्रेमका व्याख्या अपव्याख्या गर्नेहरूले । प्रेम खेल होइन, जसले हार जीतको चरित्रलाई उजागर गरोस् । प्रेम त प्रेम हो, जीवनका सम्पूर्ण क्रियाकलाप भन्दा फरक, तर जीवनसँगै जोडिएको एउटा प्रवृत्ति । पुतलीको उडानमा प्रेम, भँवराको भनभुनमा प्रेम, माहुरीको महमा प्रेम, माकुरीको जालमा प्रेम, संसारमा प्रेम कसले गरेन? र त्यहीँ प्रेममा व्यभिचार कहाँ भएन? इतिहासको गर्भदेखि अझैंसम्म प्रेममाथि अनेक कुकर्म हुँदै आएका छन् । त्यसको सिलसिला कहिले रोकियो र? मान्छेले प्रेमको बलात्कार गर्न खोजेका छन् । हत्या गर्न खोजेका छन् । तर, कसले पायो सफलता? इतिहास साक्षी छ प्रेम कहिल्यै मरेन मर्दैन । अनन्त, अजर छ । अमर बनेर ‘ताजमहल’ भएको छ प्रेम ।

वर्तमान पनि स्वयम् सामु छ उदाहरण प्रेमको । देशसँग प्रेम गर्नेहरू जिउँदा छन् । कोही ‘झन्डा’सँग प्रेम गर्छन्, कोही ‘वर्दी’सँग प्रेम गर्छन् । अपवाद स्वरूप, कुर्सीसँग प्रेम गर्नेहरू पनि छन् । सत्तासँग प्रेम गर्नेहरू पनि छन् । बन्दुकसँग प्रेम गर्नेहरू पनि छन् । प्रेम गर्ने दृष्टिकोण आआफ्नै प्रकारका छन् । प्रेम गर्ने ढङ्ग आआफ्नै किसिमका छन् । त्यसो त, गरिने ‘क्रिया’ नै कहाँ हो र प्रेम । स्वतःस्फूर्त, प्रेम त आफैं हुने ‘प्रक्रिया’ हो । जिज्ञासा राख्न सकिन्छ प्रेम कतै एउटा ‘मानसिकता’ मात्रै त होइन । आशङ्का गर्न पनि सकिन्छ । कुनै तरङ्ग मात्रै पो हो कि प्रेम । प्रेम गर्नेहरू, प्रेम गीत गाउँदै रमाउँदै भन्छन्– ‘प्रेम, प्रेम नै हो । जहाँ जाऊँ, जता टेकूँ, जता हेरूँ, प्रेम नै प्रेम छ । गुलाफ टिपूँ, गुलाफको परागमा प्रेम गुलाफको रङमै प्रेम गुलाफका पात पातमा प्रेम, गुलाफको कोपिलामै प्रेम कुन स्नायु? कुन रगत? कुन परिश्रम? कुन पसिना? चिन्दैन प्रेमले केहीलाई कसैलाई ।

शायद यही अर्थमा प्रेम अन्धो छ, केही पनि देख्दैन । अँध्यारो उज्यालो केही जान्दैन । ध्यानमा पनि छवि छ प्रेमकै कल्पनामा पनि तस्बिर छ प्रेमकै सपनामा पनि आकृति छ प्रेमकै विपनाका जहीँतहीँ चर्चा छ प्रेमकै । प्रेम गर्नेहरूको अर्को कुनै खोज छैन प्रेमका बाहेक । प्रेम गर्नेहरू केवल प्रेम गर्न जान्छन् । प्रेममा नाच्न जान्छन् । प्रेममा हाँस्न जान्छन् । प्रेममै जिउन जान्छन् । सोचून् त कसैले प्रेमको अनुपस्थितिमा जीवनको रूप कस्तो हुँदो हो? भगवानले आखिर प्रेमको आविष्कार कस्तो रुपमानै गरे? जब कुनै व्यक्तिलाई प्रेम हून्छ उसले आफ्नो पुरै मन मस्तिष्क नै आफ्नो प्रेमिको लागि सुम्पिने गर्छ । आफुले जुन मान्छेको लागि आफ्नो पुरै जीवननै उसको नाम गरेको हुन्छ भने, त्यही व्यक्तिबाट नै आफुले नराम्रो संग धोका र चोट पाउँछ भने, त्यस्तो समयमा उसले आत्महत्या बाहेक अरु कुनै विकल्प नै नपाउने उनि बताउछिन ।

 

ताजा समाचार

सम्बन्धित समाचार